सम्पादकीय—लगानी सम्मेलनबाट अपेक्षा

समाधान संवाददाता २०८१ वैशाख १८ गते १२:०३

काठमाडौंमा भएको दुई दिने तेस्रो लगानी सम्मेलन सकिएको छ सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी १ हजार ६ सय जनाभन्दा बढीको सहभागिता रह्यो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका आएका छन् । सबैभन्दा धेरै चीनबाट २ सय ६५, भारतबाट १ सय ४३ तथा बाँकी संयुक्त राज्य अमेरिका, जापान, संयुक्त अधिराज्य, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई), जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया लगायतका देशबाट लगानीकर्ता आएका छन् ।

सम्मेलनमा नेपालका झण्डै ४ सय लगानीकर्तासमेत सहभागी बने । यो सम्मेलनका लागि सरकारले १ सय ५० आयोजना शोकेसमा राखेको छ भने विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिएको छ । निजी क्षेत्रबाट पनि परियोजनाहरु प्रस्तुत गरिए । लगानी आकर्षित गर्ने सवालमा यो सम्मेलनलाई सरकार र निजी क्षेत्र दुुबैले महत्वका साथ हेरेका छन् । आवश्यकताका हिसाबले लगानी सम्मेलन आवश्यक र महत्वपूर्ण हुन्छ ।


देशको समृद्धिका लागि वस्तु र सेवा उत्पादन जरुरी छ । उत्पादनका लागि पुँजी र श्रम लगानी आवश्यक हुन्छ । उत्पादनका प्रशस्त आधार भए पनि पुँजीको व्यवस्था नहुँदा देशबाट श्रम शक्ति पलायन भइरहेको अवस्था छ । अहिले लाखौं नेपाली श्रम बजारको खोजीमा विश्वभरि भौंतारिरहेका छन् ।

Advertisement

कुनै बेला भारतको श्रम बजारमा आश्रित नेपाली विस्तारै खाडी मुलुकमा जान थालेका थिए । अहिले अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा जाने प्रतिस्पर्धा छ । दैनिक २ हजार युवा विदेश पलायन भइरहेका छन् । यो अवस्थामा देशभित्र पर्याप्त मात्रामा उद्योग, धन्दा सञ्चालन हुन सकेको खण्डमा विदेशिने जनशक्तिलाई थोरै भए पनि रोक्न सकिन्छ । उद्योग, व्यापारबाट राज्यले राजस्व पनि प्राप्त गर्ने भएकाले मुलुकको समृद्धि सम्भव हुन सक्छ ।


विगतका लगानी सम्मेलनहरुको परिणाम त्यति सन्तोषजनक छैन । सम्मेलनका बेलामा अर्बौंको प्रतिबद्धता जाहेर भए पनि व्यवहारमा करोडमा पनि लगानी नहुने अवस्था विगतमा देखिएको छ । विगतका लगानी सम्मेलनहरु यसै कारण फलदायी हुन सकेका छनन् । यो अवस्था आउनुमा भूकम्प, कोभिड–१९ लगायतका संकट पनि कारण थिए भने सरकारको लगानीमैत्री व्यवहार र आवश्यक कानुनको अभाव पनि तगारो बनेका थिए । यस पटकको लगानी सम्मेलनबाट सरकार र निजी क्षेत्रले अलि बढी आशा गर्नु स्वाभाविक छ ।

Advertisement

यसपालिको सम्मेलनमा चीन र भारतका लगानीकर्ताको बाक्लो उपस्थितिले पनि आशा बढाएको छ । नेपालको समृद्धिका आधार कृषि, ऊर्जा र पर्यटन नै हुन् । यी क्षेत्रमा लगानी आकर्षित गर्नु जरुरी छ । बारम्बारका क्रान्तिहरुबाट व्यवस्था परिवर्तन गरिरहेको नेपालले अब अवस्था परिवर्तन खोजेको छ । दुवैतिरका ठूला छिमेकी तीव्रतर गतिमा समृद्धिको बाटोमा छन् । नेपालले आफ्न समृद्धिका क्षेत्र पहिचान गरी स्वदेशी र विदेशी लगानी बढाएर आर्थिक विकास र समृद्धिको बाटो जानै पर्छ ।

तपाईको प्रतिक्रिया