पोखरामा लिडर प्रोजेक्ट

समाधान संवाददाता २०८१ वैशाख १८ गते १२:२१

पोखरा ।
नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्टर्न विश्वविद्यालयसँग सहकार्य गरी सञ्चालन गर्दै आएको लिडर प्रोजेक्ट सोमबारबाट सुरु भएको छ । क्यानडाको आइभी बिजनेस स्कुलका विद्यार्थीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर सञ्चालन हुँदै आएको छ ।


नेपाली युवा उद्यमी मञ्च पोखरा च्यापटरले पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो । मंगलबारसम्म चल्ने कार्यक्रममा ४० विद्यार्थी सहभागी छन् । कार्यक्रमको लक्ष्य बिजनेस प्रशिक्षण मार्फत उद्यमशिलता तथा आर्थिक विकासमा सघाउनु हो । ‘लिडर प्रोजेक्ट’मा संलग्न सबै प्रशिक्षक विश्व प्रसिद्ध बिजनेस स्कुल, आइभीको बिशिष्ट प्रकारले केस अध्ययन पढाउने प्रशिक्षण पाएका छन् ।


कार्यक्रममा प्रयोग गरिएको पाठ्यक्रम विश्वस्तरीय रहेको यस प्रोजेक्टका संयोजक तथा मञ्चका कार्यसमिति सदस्य निकेश द्वाले बताए । आइभी बिजनेस स्कुलले नेपाल लगायत अरु ७ देशमा ‘लिडर प्रोजेक्ट’ चलाइरहेको छ ।

Advertisement

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरुले आफ्ना बिजनेस योजना प्रस्तुत गर्ने गर्छन् । प्यानलमा रहेका उद्योग विषेशज्ञ, उद्यमी र ‘लिडर प्रोजेक्ट’ का एल्मनी सदस्यको संलग्नतामा घोषित घोषित बिजनेस योजना बनाउने समूहलाई प्रोत्साहन स्वरुप नगद ५० हजार प्रदान गरिने मञ्चका अध्यक्ष निरन केसीले जानकारी दिए ।


नेपाल युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीको संस्था हो । यसले युवा उद्यमीबीच उद्यमशीलतासम्बन्धी विचार आदानप्रदान गर्नुका साथै शिक्षा, तालिम र फेलोसिप लगायतका कार्य गर्दै आएको छ । संस्थामा देशका १३ सहरका ८ सयभन्दा बढी युवा उद्यमी आबद्ध छन् छन् । पोखरा च्यापटर सबैभन्दा पुरानो सन् २००४ मा स्थापना भएको हो ।

Advertisement


‘लिडर प्रोजेक्ट’ का मुख्य प्रायोजकमा पोखरा फाइनान्स लिमिटेड, ग्रीन डेभलपमेंट बैंक लिमिटेड र हिमालयन एभरेस्ट इन्सुरेन्स र सहप्रायोजकमा मञ्च पोखरा च्यापटरका विभिन्न क्षेत्रका ३२ युवा उद्यमीले आ–आफ्नो कम्पनी अन्तर्गत सहयोग गरेको मञ्चका कोषाध्यक्ष सिए विवेक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया