९ सय क्युफिट काठ बरामद

समाधान संवाददाता २०८१ वैशाख १९ गते १२:३७

जोमसोम ।
लुकाइछिपाइ ट्रकमा लोड गरी मुस्ताङ ल्याईएको अवैध काठ प्रहरीले बरामद गरेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमतर्फ आउँदै गरेको ग२ख नम्बरको ट्रकमा ल्याइएको अवैध चिरान गरिएको काठ सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।


यसअघि आइतबार राति १० बजे म्याग्दीको बेनीबाट मुस्ताङतर्फ अवैध काठ ट्रकमा लोड गरी लैजादै गरेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आएको थियो । प्रहरीले खोज, तलासपछि मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोमको पक्की पुलतर्फ आउँदै गरेको अवस्थामा मंगलबार बिहान २ बजे चालकसहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।


प्रहरीले निगरानी गरी नियन्त्रणमा लिएको काठ लोड गरिएको ट्रक खानतलासी गर्दा लोड गरिएको काठको छोड पुर्जी वा आधिकारिक कागज प्रमाण नभएको पाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । नियन्त्रणमा लिई बरामद गरिएको काठ पर्वतबाट ढुवानी गरी मुस्ताङ ल्याइएको भए पनि काठको वैधानिकता नभएको प्रहरीले जनाएको छ ।

Advertisement


बरामद भएको काठ अन्दाजी ८ सय ९९ दशमलव ९६ क्युफिट भएको र काठको मूल्य करिब १ लाख १२ हजार पर्ने जनाइएको छ । प्रहरीले मुचुल्का गरी ट्रकसहितको काठ र ट्रक चालक बाग्लुङ निसीखोला गाउँपालिका ६ बस्ने ४५ वर्षीय डिलबहादुर घर्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोम कार्यालयमा बुझाएको छ ।


अवैध काठ, ट्रक र चालक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि एक्याप जोमसोमलाई हस्तान्तरण भएको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कार्यालय प्रमुख रेग्मीले प्रहरीले पेश गरेको ट्रकसहितको काठ र चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सम्पर्क कार्यालय पोखरामा पठाइसकेको जनाए ।

Advertisement


‘हामीले यहाँ प्रारम्भिक अनुसन्धान गर्‍यौं, वैधानिकता भेटिने प्रमाणहरु भेटिएन,’ कार्यालय प्रमुख रेग्मीले भने, ‘काठसहितको ट्रक हामीले कार्यालयमा राखेका छौं, चालकलाई पोखराको सम्पर्क कार्यालयमा पठाएका छौं ।’

तपाईको प्रतिक्रिया