अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक

समाधान संवाददाता २०८१ वैशाख १९ गते १२:४७

पोखरा ।
पोखराका मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठ, मन्दिर पर्छन् । हालै पर्यटनको राजधानी बनेको पोखरालाई प्रवर्धन गर्न विभिन्न योजना बनाइँदै छ । पोखरामा पाहुनाका पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा पर्छः अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको संग्रहालयमा पछिल्लो आर्थिक वर्षमा सार्क राष्ट्रबाहेक ९८ देशका पर्यटक आएका छन् ।


सार्कका नेपालबाहेक अरु ७ देशका जोड्दा यहाँ आउने पर्यटकको संख्या १ सय ५ पुग्छ । संग्रहालयमा सार्क, विदेशी र नेपालीको मात्र फरक फरक तथ्यांक राख्ने गरिएको थियो । गएको कात्तिकदेखि विदेशीको राष्ट्रियता अनुसारको तथ्याङ्क राख्न थालिएको छ ।


चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म सार्क देशका १५ हजार ७ सय ७२ जनाले संग्रहालय अवलोकन गर्दा ४१ लाख ३५ हजार ३ सय ४८ रुपैयाँ आम्दानी भएको छ । यो ९ महिनामा आएका १८ हजार १ सय ९० जना विदेशीले संग्रहालयलाई ९५ लाख २९ हजार आठ सय २८ रुपैयाँ प्रवेश शुल्क तिरेका छन् ।

Advertisement


संग्रहालयका भावी योजना निर्माण र पर्यटकको संख्या बढाउन राष्ट्रियता अनुसारको तथ्यांकले सहयोग गर्ने कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेको तर्क छ । ‘यो संग्रहालय दुई दशकदेखि पर्वतीय गतिविधि, संस्कृति र जलवायु परिवर्तन बुझाउने अध्ययन केन्द्र बनेको छ । यस्तो तथ्यांले हामीलाई भावी योजना, थप निर्माण र रणनीति तय गर्न पनि सघाउने अपेक्षा गरेका छौं,’ उनी भन्छिन् ।


संग्रहालय नाफा आर्जनका लागि नभई ज्ञान बाड्न केन्द्रीत भएको सुनाउँदै उनले महिनामा कमसेकम २० लाख खर्च हुने उल्लेख गरिन् । पर्यटकीय नगर पोखराको एउटा आकर्षणका रुपमा स्थापित संग्रहालयलाई स्थानीय सरकार र प्रदेश सरकारले पनि सघाउनुपर्ने उनको भनाइ छ ।

Advertisement


यहाँ आउनेमा सबैभन्दा बढी जापानी देखिएका छन् । कात्तिकदेखि चैतसम्म १ हजार ७ सय ६४ जना जापानी पर्यटक आएका छन् । सो अवधिमा १ हजार ७६ जना फ्रान्सेली, ७ सय ९३ जना चिनिया, ७ सय ६४ जना अमेरिकी, ५ सय ६५ जना बेलायती र ८ सय १६ दक्षिण कोरियाका नागरिकले संग्रहालय हेरेका छन् । अघिल्लो वर्ष दुई करोड ९१ लाख १३ हजार सात सय आम्दानी गरेको संग्रहालयले चालु आर्थिक वर्षमा २ करोड ९ लाख ९४ हजार ४ सय ९१ रुपैयाँ संकलन गरेको छ ।


संग्रहालयको अगाडिको सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा यहाँ आउने पर्यटकहरु सास्ती व्यहोर्न बाध्य छन् । पोखरा १७ रातोपैह्राको करिब १ सय रोपनीमा रहेको यो संग्रहालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने आवाज पनि बेला बेलामा उठिरहन्छ । यसो गर्न नेपाल पर्वतारोहण संघको मात्र बुताले मात्र नपुग्ने जनाउँछन् संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे ।


‘यसलाई अनुसन्धान केन्द्र बनाएर अझ धेरै पर्यटन र अनुसन्धातालाई आकर्षण गर्न सकिन्छ,’ पाण्डे भन्छन्, ‘यसका लागि राज्यले लगानी र बजारीकरण गरिदिनुपर्छ ।’ संघीय पर्यटन मन्त्रालयको सहयोगमा संग्रहालयको छाना फेर्न यसपालि बजेट विनियोजन भएको छ । ठाउँ ठाउँमा पानी चुहिएपछि करिब एक करोडमा छाना फेर्ने तयारी भएको हो ।

तपाईको प्रतिक्रिया