पोखरा स्पोर्ट्स अवार्डः उत्कृष्ट प्रशिक्षकमा नीरज, रमेश र रिजन छानिए

समाधान संवाददाता २०८१ वैशाख २५ गते ११:२९

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिँदै छ । ४ विधाको मनोनयन सार्वजनिक भइसकेकाले अवार्ड कसको पोल्टामा पुग्ला भन्ने जिज्ञाशा बढेको छ । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ पनि उस्तै प्रतिष्पर्धा छ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका छन् ।


नीरज थापा (टेनिस)
काठमाडौँ रंगशालाको टेनिस कोर्टमा २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए नीरज थापा । काम गर्दा नीरजलाई अरूले हेरेको खेल्न थाले । २०५४ मा बल टिप्न र कोर्ट बनाउन उनी पोखरा आए । त्यसपछि उनी र्‍याकेट चलाउन थाले । दशकअघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले नीरजसँगै टेनिस र्‍याकेट समात्न सिकेका हुन् ।


उनले २०५८ सालमा काठमाडौँ एक वर्षे कोचिङ टेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील भए । उनले २०५९ मा रत्न श्री जिम हलमा टेनिस सिकाउँदा१० जनाले मात्र टेनिस खेल्थे । अहिले १०० भन्दा बढी टेनिस खेल्छन् ।

Advertisement


उनी बिहान, साँझ टेनिस कोर्टमै हुन्छन् । नेपालका शीर्ष वरियताका खेलाडी प्रदीप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस सरहका रूपमा चिनाउन नीरजको ठूलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’का रुपमा चिनिन्छन् ।


रमेश केसी (भलिबल)
चैतमा चितवनमा भएको अन्तर प्रदेश भलिबलमा गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन विभागीयलाई समेत हरायो । गण्डकीलाई उत्कृष्ट बनाउन भूमिका खेलिरहेका छन्, प्रशिक्षक रमेश केसीले । केसी अहिले गण्डकीको मुख्य प्रशिक्षक छन् । गण्डकीले २०८० मा १९ प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्यो ।

Advertisement


केही वर्षअघिदेखि केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टरसमेत सञ्चालन गरेका छन् । सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान् खेलाडी उनकै प्रशिक्षणबाट अघि बढेका हुन् ।


रिजन प्रजु (क्रिकेट)
रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले कोचिङ गरी सहभागिता भएको पहिलो प्रतियोगितामा नै उपाधि जिताएका थिए । सुदूरपश्चिममा भएको यु १९ महिला प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


सन् २००७ मा खेलेका उनी यु १७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ सालबाट भने उनी कोचिङतिर लागे । लेभल १ को कोचिङ ट्रेनिङ लिएका उनले २०१६ पछि भने जागिर छोडेर फुल समय क्रिकेटलाई दिन थालेका हुन् ।


उनले अहिले आइसिसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रिय स्तरमा उपाधि जितेको छ । हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहीन महिला क्रिकेट टिमका पनि प्रशिक्षक हुन् ।

तपाईको प्रतिक्रिया