मातातीर्थ औंसी

राजकुमारीः कुशल र खुसी आमा

रवीन्द्र माकाजु २०८१ वैशाख २६ गते ९:३४

वैशाख कृष्ण औंसी मातृ आमावश्याका रूपमा चिनिन्छ । यस दिन जीवित आमालाई सन्तानले स्वादिष्ट भोजनले सन्तुष्ट पार्ने वा स्वर्गलोक पुगेकालाई तर्पण, सिदा दान गर्ने गरिन्छ । नेपाली समाजमा मातातीर्थ औंशी वा कुशेऔंशी श्रद्धापूर्वक मनाउने चलन छ ।


मातृत्व सामान्य विषय होइन । जसलाई सृष्टि क्रमको बरदान भन्ने गरिन्छ । तसर्थ मातृस्नेह संसारमा सबैलाई प्रिय लाग्छ । आमा, एउटा मीठो शब्द ! सायद आमाभन्दा प्रिय अरू के नै हुन्छ ? आमा हुनेका लागि निकटका घनिष्ट नाता र नहुनेका लागि गहिरो अपूर्णनीय अभाव आमा नै हो ।


पोखरा ९ महेन्द्रपुल निवासी ७५ वर्षीया कुशल आमा या नारी जसले आमाको स्नेहमात्र पाइनन्, आफ्ना सन्तानलाई स्नेह र सद्भाव प्रदान गर्दै आएकी छन् । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा २००६ साल कात्तिक १४ गते जन्मेकी राजकुमारी श्रेष्ठ बन्दीपुरबाट एसएलसी परीक्षा दिएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गइन् ।

Advertisement

पद्मकन्या कलेजमा बिए पढ्दा पढ्दै बिहेको प्रसंग चल्यो । २०२७ फागुन २७ गते राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक केदारनाथ कायस्थसँग लगनगाठो जुर्‍यो ।


त्यस बेला नारायणगढमा राजकुमारीका बाबु चन्द्रकुमार श्रेष्ठ र आमा शरणमाया व्यापार गर्दथे । पोखराबाट नारायणगढ जानका लागि हवाईजहाज भरपर्दो साधन थियो । आमाको मुख हेर्ने दिन मातातीर्थ औशीमा आमालाई भेट्न चाहेर पनि जान गाह्रो थियो । अहिलेको जस्तो सञ्चार माध्यम र यातायातको सुविधा थिएन । बिहे गरेर आएपछि उनका लागि आफ्नै घर, परिवार नै संसार थियो ।

Advertisement


ससुरा द्वारिकानाथ कायस्थले सधैँ भन्ने गरेको सम्झना गर्दै उनले भनिन्–नानी! अब तिम्रा लागि घर पनि माइती पनि यही हो । नभन्दै राजकुमारीका लागि यही शिक्षा व्यवहारिक रूपमा लागू भयो । जेठी बुहारी भएकाले घरधन्दा, सासूससुराको स्याहार गर्नुपर्ने नै भयो । परिवार ठूलो हुँदा आफ्ना श्रीमानलाई जागिरलाई मात्र केन्द्रित नगरेर व्यापार, व्यवसाय गर्न सु¥याए । अनि उनका काँधमा व्यापार हेर्ने जिम्मेवारी पनि थपियो ।


पुराना दिन सम्झदै उनले भनिन्–त्यस बेला मातातीर्थ औशी, कुशेऔशीमा अहिले जस्तो चहलपहल हुँदैनथ्यो, तडकभडक हुँदैनथ्यो । अन्तर मनबाट आफ्ना बाबुआमालाई सम्झने गरिन्थ्यो । सक्नेहरूले बाबुआमालाई खुवाउन प्रशस्त मिठाइ बोकेर ल्याउँथे । सुरुका वर्षमा बाबुआमाको बढी सम्झना आउथ्यो तर यातायात अभावका कारण चाहेर पनि बाबुआमालाई भेट्न सकिन्नथ्यो । घरमा सासू, ससुरा पनि भएकाले बाबुआमाको स्नेह र सद्भावको कहिल्यै कमी भएन ।


उनले थपिन्–सायद भगवानको कृपा भएरै होला माइतीका बुबाआमाले दीर्घजीवन प्राप्त गर्नुभयो । ०७५ सालमा बुबा र ०७७ सालमा आमासँग विछोड भएको हो । मलाई लाग्छ, स्वर्गबाट भए पनि मलाई उहाँहरुको आर्शीवाद मैले पाइरहेकी छु ।
अहिले मातातीर्थ औँशी कसरी मनाउने गर्नुहुन्छ भन्ने प्रश्नमा राजकुमारी बताउँछिन्–बिहान उठेर स्नान गरेर उहाँहरुलाई स्मरण गर्छु । सदा झैँ बाजेलाई सिदा दान गर्ने गर्छु । सन्तानले पनि मलाई सम्झने गर्दछन् ।

स्वदेशमा भएका छोराछोरी भेट्न आउँछन् भने विदेशमा भएका छोराछोरी दीर्घायु, सुस्वास्थको कामना गर्छन् । मलाई अति खुसी लाग्छ यो दिनलाई सम्झेर । सकिञ्जेल दान, पुण्य गर्न मन लाग्छ । हामीले पनि बुबाआमाका नाउँमा सानातिना पुण्यकार्य गर्दै आएका छौँ । ज्येष्ठ नागरिकका हैसियतले प्राप्त सुविधालाई सामाजिक कार्यमा नै खर्च गर्ने गरेको छु । पोखराको नयाँबजार स्थित राममन्दिर भजन टोलीलाई परिवारको तर्फबाट सक्दो सहयोग गर्दै आएका छौँ ।


बाँकी जीवनबारे महेन्द्र महिला जागरण समूहकी उपध्यक्षसमेत रहेकी उनी भन्छिन्–म हाँसी, खुसी बाँच्न चाहन्छु । सायद धर्तीका मान्छेहरू यही र यस्तै चाहना राख्छन् होला । तैपनि मेरो इच्छा छ रोगव्याधिले नकिचोस् । न मलाई कसैसँग चिढिनुपरेको छ न कसैसँग बैमनष्यता गर्नुपरेको छ ।
७५ वर्षकी राजकुमारी दैनिक रूपमा ब्रह्म मूहर्तमा उठ्ने, स्नान गर्ने, मर्निङ वाक गर्ने, पानी पिउने, फूलमा पानी राख्ने, परिवारसँग बसेर खाना खाने गर्छिन् । जीवनमा ठूल्ठूला इच्छा बोकेकी छैन । आफूसँग जे छ, त्यसैमा रमाउने बानी छ ।

परमात्माले सबै कुरा पुर्‍याइदिएका छन् । श्रीमान् ८० वर्ष पुगेता पनि स्वस्थ र निरोगी छन् । सन्तानहरु साथमा नै छन् । अनुकूलका छन् । ‘भजनकीर्तन, सत्संगमा नै मन रमाएको छ, त्यसैले मलाई दुःख के हो सुख के हो खासै थाहा पनि छैन । जीवन यसरी नै बितोस् भन्ने चाहन्छु,’ उनी भन्छिन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया