पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:३८

पोखरा ।

पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिने भएको हो ।


प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् ।

Advertisement


पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । उनी जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । विकृति विसंगतिविरुद्ध कलम चलाउने उनी निर्भीक मानिन्छन् ।


उनी खेलकुद पत्रकार मञ्चका पूर्व कार्यसमिति सदस्य तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव हुन् । गत वर्षमात्र उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया