सूर्य र विश्वलाई ब्याडमिन्टन उपाधि

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:३९

पोखरा ।
सूर्य अधिकारी र विश्व अधिकारीको जोडीले पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना गरेको तेस्रो वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोतिगता २०८१ को उपाधि जितेको छ । ५० वर्षभन्दा मुनिको उमेर समूहमा अधिकारीको जोडीले सूर्य पौडेल र एक मगरको जोडीलाई २ शून्यको सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।


युनिक ब्याडमिन्टन पोखराको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० वर्षभन्दा माथिको उमेर समूहमा उपेन्द्र श्रेष्ठ र राम श्रेष्ठको जोडी प्रथम भएको छ । सो जोडीले सरोज श्रेष्ठ र चिजकाजी गुरुङ २ शून्यको सोझो सेटले पराजित गरी प्रथम भएको हो ।

बराल पार्टी प्यालेसको ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा ५० वर्षभन्दा मुनिको उमेर समूहमा देवेन्द्र गुरुङ र चुमानसिंह थापा, रामचन्द्र रामदाम र रामकृष्ण तिमिल्सिनाको जोडीले तृतीय पुरस्कार पाएको रेफ्री पुकार गुरुङले जानकारी दिए ।

Advertisement


५० वर्ष माथिको उमेर समूहमा जुक्तमान गुरुङ र रवीन घमाल, क्रान्ति पौडेल अधिकारी र शोभा गुरुङको जोडीले तृतीय पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने जोडीलाई क्रमश १५ हजार, १० हजार र ५/५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरियो ।


पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा सचिव सविता ढुंगाना पौडेल, युनिक ब्याडमिन्टन क्लब पोखराका अध्यक्ष जुक्तमान गुरुङले विजयी खेलाडीलाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया