रत्नशोभा माविको ६५ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ वैशाख २६ गते ९:५६

लेखनाथ ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले समुदायबाट सञ्चालित विद्यालयको गुणस्तर उकास्न समुदायकै मुख्य भूमिका हुने औंल्याएका छन् । पोखरा २८ को माझठानामा रहेको रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहमा आचार्यले सरकारी विद्यालयमा विद्यार्थी घट्नुका कारण खोजी ती समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


पोखरा महानगरपालिकाले शैक्षक सुधारका लागि सबैलाई उत्तरदायी बनाउन ५५ बुँदे सुधारका योजना ल्याएको उनको भनाइ छ । ‘शिक्षित जनशक्ति किन बाहिरिँदै छ, यसबारे समयमा नसोच्ने हो भने भविष्यमा ठूलो समस्या आउन सक्छ,’ उनले भने ।


पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयको शैक्षिक उन्नयनका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सामूहिक प्रयास जरुरी भएको बताए । पूर्व विद्यार्थीहरु डा शान्ता खत्री र हरिबहादुर बुढाथोकीले सृजनात्मक र प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गोपालबहादुर वुढाथोकीले विद्यालयको प्रगति विवरण र भावी योजनाबारे प्रकाश पारेका थिए । विविध सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विधामा सम्मान गरिएको कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका संयोजक शुक्र शर्मा, लेखनाथ सामुदायिक कृषि सहकारीका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, दोहोरी गायक चोलेन्द्र पौडेल, ज्योति लोहनी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सूर्यप्रकाश तिवारी, मोहन गुरुङ, पूर्व प्रधानाध्यापक मीनराज अधिकारी, पूर्व शिक्षक श्यामबहादुर केसी नेपाली कांग्रेस वडा नं २८ का सभापति विश्वरमण अधिकारी, नेकपा एमाले वडा नं २८ का अध्यक्ष रामकृष्ण तिवारी र राप्रपा जिल्ला सहसचिव कृष्ण तिवारी, शिक्षकद्वय ऋषिराम रानाभाट र पूर्णबहादुर खत्री, शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्द लामिछाने, सहायक प्रधानाध्यापक उदयराज ओझा र विद्याथी स्मृति बुढाथोकीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया