फिल्म समीक्षा

बुख्याचा राज्य प्रणाली !

प्रोटागोनिस्ट जब आशा बोकेर सरकारी मान्छे भेट्न जान्छ तब साइकल उकालो लागेको छ । निराशाको पोको बोकेर फर्किंदा साइकलले ओरालो झरेको छ या साइकल डोर्‍याएको छ ।

युवराज गुरुङ ‘युनिश’ २०८१ वैशाख २६ गते १४:३९

‘जमिन कसको ? जोत्नेको !’ वर्षौँ भयो यो नारा गुन्जिएको । कुनै राजनीतिक पार्टीले उठान गरेको यी दुई हरफ नाराले मूर्त रूप लिन भने अझै सकेको छैन । व्यवस्था त फेरियो, फेरिएन भुइँमान्छेहरूको अवस्था । निम्न वर्गका निम्ति जे जति कार्यक्रम र योजना बने लाभ भने मुठीभरका मान्छेहरूले मात्र लिए । भुइँमान्छेहरूका समस्या भने ज्यूँका त्यूँ ।


यिनै विषयको पेरिफेरिमा घुमेको छ लघु चलचित्र– फेरा । जुन गत महिना आयोजना भएको प्रतिष्ठित नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।


मधेसको कुनै गाउँ । कोभिड–१९ को महामारीमा रोजगारी गुमेपछि वैदेशिक रोजगारीबाट फर्केका छन्–भगत राजभर । अब उनको मनको लहड त्यति विकराल छैन । अधियाँ खेतमा पसिना बगाएर श्रीमती र बालखसँगै जीवन बिताउनु छ । परदेश जाँदा लागेको साहुको ऋणको बोझ बिसाउनु छ ।

Advertisement


एकदिन उनले स्वदेश फर्केका श्रमिक लक्षित स्वरोजगारमूलक पुनःएकीकरण कार्यक्रमबारे थाहा पाउँछन् । आफ्नो होस्टेमा सरकारले हैँसे दिने भनेपछि हर्षले विभोर हुन्छन् । अनुदानका लागि फारम भर्छन् । त्यसपछि सुरु हुन्छ उनको रस्साकस्सीको यात्रा ।


के सरकारले दिने अनुदान पूर्ण रूपमा प्राप्त गर्लान् उनले ?
नाम भगत अर्थात् भक्त । तर, उनले आजसम्म कुनै राजनीतिक पार्टीको भक्ति गाएका छैनन् न त नेताको । त्यसैले त दुई बोरा अनुदान पाउन सरकारी अड्डाको फेरो लगाउनु परेको छ । फिल्मले वर्तमान राजनीतिक अवस्थामाथि कडा व्यंग्य प्रहार गरेको छ । सत्ता र शक्तिले उन्माद नेतालाई चर्को घच्का दिएको छ ।

Advertisement

भुइँमान्छेहरू जसलाई राजनीतिसँग नै साइनो छैन तर तिनको जीवनमा राजनीतिले कति प्रभाव पारेको छ ? यी कुराहरूलाई चलचित्रमा मिहीन रूपमा उतारिएको छ


भुइँमान्छेहरू जसलाई राजनीतिसँग नै साइनो छैन तर तिनको जीवनमा राजनीतिले कति प्रभाव पारेको छ ? यी कुराहरूलाई चलचित्रमा मिहीन रूपमा उतारिएको छ । निर्देशक अनिल कुर्मीको सिर्जनात्मक फिल्मी औजार यसै माथि चलेको छ ।
चलचित्रमा एउटा दृश्य छ, बेलुकीपखको । दिनभर सरकारी कार्यालय धाउँदा भगत लखतरान भएका छन् ।

खाटमा बसेर उनकी श्रीमती कुरा सुनिरहेकी छन् । देशमै बसेर खेती किसानी गर्ने निर्णय बदलेर फेरि विदेश फर्किने कुरा गर्दैछन् । उनी संवादमा बोल्छन् – सरकार भन्छ ऋण लैजाऊ, देशमै केही गर । तर सहयोग कतैबाट मिल्दैन । डिप स्याडोज अर्थात् किआरोस्क्युरो प्रकाशमा छायांकन गरिएको उक्त दृश्यले देशको खराब राजनीतिको कारण सामान्य मानिसले भोगेको पीडा सशक्त रूपले चित्रण गरेको छ ।


जसका लागि सरकारले अनुदान कार्यक्रम ल्याएको छ, उसले जति दौडधुप गर्दा पनि पाएको छैन । जबकि राजनीतिक झोला बोकेकै कारण अरूले नै त्यसको फाइदा लिएका छन् । उक्त दृश्यमा पृष्ठभूमिमा कराइरहेको झ्याउँकीरीको ध्वनिले बर्खा सुरु हुन लागेको संकेतमात्र गर्दैन पात्रको मनोभावसमेत दर्साएको छ । जसरी उनले खेतमा फूलगोभी उमार्ने सपना बुन्दा चराले गाएको थियो । ध्वनि र प्रकाश संयोजन निकै चलाखीपूर्ण तवरमा प्रयोग छ ।


टाढाबाट हेर्दा मान्छे जस्तै देखिन्छ, खेतमा उभ्याएको बुख्याचा । अनि तर्सन्छन् पशुपंक्षीहरू ! खासमा बुख्याचा एउटा भ्रम हो । नजिक पुगेपछि थाहा हुन्छ कि यो त बुख्याचामात्र हो । चलचित्रको केन्द्रीय पात्र कठपुतली बन्नुपरेको छ, बुख्याचा राज्य प्रणालीको । र, अधिकार खोज्दा फेरा लगाउनुपरेको छ, साइकलको पाउदानी जसरी । निर्देशकले देशको राज्य प्रणालीलाई बुख्याचाको संज्ञा दिएका छन् । बुख्याचा र साइकलको पाउदानीको बिम्ब निकै शक्तिशाली र अर्थपूर्ण छ ।


घमाइलो दिनबाट चलचित्र सुरु भएको छ अनि सकिन्छ–डुब्न लागेको घामसँगै । घामले डाँडा नाघ्दै जान्छ, भगतको आशाको किरण निभ्दै गएको छ । रङ संयोजन पनि कथा र पात्रको भाव अनुरूप पोतिएको छ ।


प्रोटागोनिस्ट जब आशा बोकेर सरकारी मान्छे भेट्न जान्छ तब साइकल उकालो लागेको छ । निराशाको पोको बोकेर फर्किंदा साइकलले ओरालो झरेको छ या साइकल डो¥याएको छ । त्यसरी नै बजेको छ पाश्र्व संगीत पनि ।


अर्को दृश्यमा निर्देशकको इरादा अनुरूप फ्रेममा डोजर र निर्माणको काम गर्दै गरेको दृश्य समावेश छ । कृषिप्रधान देशमा एउटा कृषक आफ्नो आधिकारबाट बिमुख हुँदा नेतालाई डोजरे विकासलाई नेताले कसरी प्रश्रय दिएको छ भनेर देखाउन खोजेको छ । दृश्यले डोजरे विकासलाई गतिलो झापड दिएको छ ।


छायांकन औसत नै छ । भगतलाई देखाउँदा प्रयोग गरेको ‘हाई एंगल’, मेयरलाई देखाउँदा ‘लो एंगल’ अनि भगतको ‘पिओभी सट’ सबै कथा अनुरूप खिचिएको छ । कथाको प्रोटागनिस्ट अनिल कुर्मीको अभिनय उम्दा छ । उनले बोल्ने भाषा र लवजले गर्दा मधेसकै कुनै सामान्य मान्छेलाई टिपेर चलचित्र बनाएझैँ लाग्छ । अरूको अभिनय भने औसत नै छ ।


चलचित्र कमजोरीविहीन भने छैन । निर्देशकले दृश्य भाषामा कम मेहनत गरेको देखिन्छ । कथा भन्न संवादको सहारा लिएका छन् । जुन बालखको पालनपोषणको कुरा गरेको छ, पर्दामा बालख उपस्थिति नै देखिन्न, न दिनमा न राति ओछ्यानमा ।


वैदेशिक रोजगारीबाट फर्केकोहरूको कथा हो तर विदेश गएको निशानी स्वरूप कुनै चिज भेटिँदैन न उनको हाउभाउमा देखिन्छ । संवाद बोलेको भरमा उनलाई वैदेशिक रोजगारीबाट फर्केको कसरी पत्याउनु ? चलचित्रको एउटा दृश्यमा मोबाइल मर्मत केन्द्रसमेत देखाएको छ अर्थात् नगरबासीको हात हातमा मोबाइल छ, सस्तो भएपनि । फेरि सूचनाको लागि रेडियोको प्रयोग गरेर परम्परागत नाटकको सजिलो शैली पछ्याएको छ ।


समग्रमा चलचित्रको प्रस्तुतीकरण सरल र यथार्थपरक छ । राजनीतिक सिकार भएका भुइँ मान्छेहरुको कथा काँचको पर्दामा उतार्न निर्देशक सफल भएका छन् । चलचित्रमार्फत गरिबी र अभावले थिचेका भगतहरुको कथा सुनाउने उनको प्रयास तारिफयोग्य छ ।

तपाईको प्रतिक्रिया