आत्मनिर्भर बनाउन महिलालाई सीप सिकाउँदै पोखरा १२

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:२७

पोखरा ।
पोखरा महानगरपालिका–१२ नम्बर वडाले महिलाहरुको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय बाद्यबादन तालिमसम्म सञ्चालन गरेको छ ।


कार्यालयले महिलाहरुको लागि चैत २१ देखि वैशाख २२ सम्म एक महिने वाद्यवादन कार्यक्रम सञ्चालन गरेको थियो । वडाले महिलालाई लक्ष्य गरेर एक महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका वाद्यवादनका कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।


उनका अनुसार वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाभित्रका महिला दिदीबहिनीको उत्साहजनक सहभागिता छ । ‘कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो, उनले भने ।

Advertisement


तालिममा वडाका ३७ जना महिलाको सहभागिता थियो । पोखरा १२ नम्बर वडाका १८ वटा आमा समूहका प्रतिनिधिलाई वडाले छुट्याएको १ लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको हो ।


यस्ता खालका कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी विष्णुमाया पौडेलले बताइन् । सीप सिकेका महिलालाई विवाह, व्रतबन्ध एवं छरछिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन सहयोग पुग्ने कार्यक्रम संयोजक एवं वडा सदस्य शान्ति कोइरालाले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया