धनकुमारीले दिइन् सहारा स्कुललाई स्मार्ट टिभी

समाधान संवाददाता २०८१ वैशाख २७ गते १०:५९

पोखरा ।


पोखरा ९ बसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा पोखरा–१७ विरौटा निवासी समाजसेवी सुवेदारनी धनकुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छन् । दाता गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् ।


विपन्न तथा अव्यवस्थित बस्तीका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकाहरुलाई प्रविधिमैत्रीरुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको दाता गुरुङले बताइन् । मातातीर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा सुवेदारनी धनकुमारी गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना सहित आशीर्वादसमेत व्यक्त गरिन् ।

Advertisement


पोखरा–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले दाता गुरुङ परिवारलाई धन्यवाद व्यक्त गरे । विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा खुशी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।


विद्यालयको प्रथना समयमा रहेको कार्यक्रममा वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवं विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीको समेत उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया