पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुको दुर्घटना बिमा

समाधान संवाददाता २०८१ वैशाख २७ गते १४:२९

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गराएको छ । एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए ।


सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका हुन् ।


अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग गरिएको बिमा सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरुको दुर्घटना भएमा त्यसबापत बढीमा एक लाख रुपैयाँसम्मको बिमा रकम प्रदान गरिनेछ ।

Advertisement


‘उद्योगी/व्यवसायीहरुले व्यक्तिगत रुपले पनि बिमा गराउनुहुन्छ, हामीले चाहिँ हाम्रा सदस्यहरुका लागि संघको तर्फबाट सानो भए पनि दायित्व निर्वाह गर्न खोजेका हौंँ,’ अध्यक्ष प्रजापतिले भने, ‘नवीकरण गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा समेटिने छ ।’


बिमा कम्पनीसँग गरिएको सम्झौता अनुसार दुर्घटनादेखि औषधि उपधारसम्मका सम्पूर्ण सेवाहरु सदस्यहरुले प्राप्त गर्नेछन् । संघले सम्पूर्ण सदस्यहरुको बिमा गरिएकाले संघको सदस्यता लिँदा नागरिकतामा उल्लेख गरिएको नाम थर नै लेख्न पनि सदस्यलाई अनुरोध गरेको छ ।

Advertisement


सदस्यहरुले चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसक्नुपर्छ । महासचिव बलराम आचार्यका अनुसार अतिरिक्त दस्तुरसहित असार मसान्तसम्म नवीकरण गर्न सकिनेछ ।


नयाँ सदस्यको हकमा चाहिँ संघले बाह्रै महिना सदस्यता प्रदान गरिने उनले बताए । स्थानीय कर प्रशासनमा दर्ता गरेको प्रमाणपत्रसहित आवेदन दिनेलाई छानबिनपछि सदस्यता प्रदान गरिने उनको भनाइ छ ।


कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य बसन्त उदास र राजेन्द्रकुमार लालचन तथा पूर्वअध्यक्ष नारायण कोइरालासहित नेपाल बिमा प्राधिकरणका गण्डकी प्रमुख केशवप्रसाद दाहाल,हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश नियन्त्रक हरिप्रसाद श्रेष्ठसहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।

यसअघि पोखराको मणिपाल अस्पतालसँग १० देखि २५ प्रतिशतसम्म छुट सम्झौता, पृथ्वी राजमार्ग बस संचालक कम्पनीसँग बस भाडामा १५ प्रतिशतसम्म छुट र अन्नपूर्ण केलबकारसँग टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।


छुट लिनको लागि संघको परिचयपत्र भने देखाउनुपर्नेछ । संघले सदस्यहरुको परिचयपत्रलाई डिजिटल बनाउँदै अझ व्यवस्थित अभिलेखीकरण गर्ने निर्णय गरेको कोषाध्यक्ष दीनेश बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया