
उमेर ८३ वर्ष, तर जोश युवा जस्तै, पोखराका पूर्व उपप्रधानपञ्च विश्वमोहन गौचन । गौचन नेपाल एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष एवं एचआइभी तथा एड्स सञ्जालका गण्डकी प्रदेशका अध्यक्षसमेत छन् । एड्स रोग उन्मुलनका लागि दत्तचित्त उनले घरमै कार्यालय राखी निःशुल्क सेवा दिएका छन् । यो संस्थामा उनी २०५४ सालदेखि लगातार अध्यक्ष छन् ।
तर उनको एउटै चिन्ता छ एड्सको डढेलोबाट कसरी समाजलाई जोगाउने ? यसका लागि उनले आफन्त, शुभचिन्तक, सहयोगीबाट आर्थिक संकलन गरी घरदैलो अभियान, बृत्तचित्र निर्माण, निबन्ध प्रतियोगिता, अन्तक्र्रिया, लोकदोहोरी, चित्रकला प्रतियोगिता आदिका माध्यमबाट सचेतना जगाउँदै छन् ।
विश्वमोहन बुवा रामबहादुरको प्रेरणाले समाजसेवामा आएका हुन् । उनी पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बने ३ पटक । पछि, उनी पोखरा नगर पञ्चायतमा उपप्रधानपञ्च हुँदै कार्यबाहक प्रधानपञ्च पनि भए । उनले पछिल्लो समयमा एड्स रोग सचेतनाका लागि २०६५ सालमा वृत्तचित्र बनाए । सो वृत्तचित्रले फिल्म फेस्टिबल २०६५ मा जुरी अवार्ड पायो भने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा इन्करेज अवार्ड हाँसिल गर्याे ।
गौचन हरेक अभिभावकलाई सल्लाह दिन्छन्–आफ्ना सन्तान कहाँ जान्छन्, के गर्छन् ख्याल राख्नुपर्छ । रोजगारीका लागि विदेश जाने युवायुवतीमा एड्सको डढेलोले छोपेको उनको भनाइ छ । भन्छन्, ‘सरकारले एड्स संक्रमितलाई सीपमूलक तालिम केन्द्र खोलेर सहयोग गर्नुपर्छ ।’
गौचनले २००६ तिर पोखराको पहिलो स्कुल पोखरा पब्लिक स्कुलमा अक्षर चिन्ने अवसर पाए । उनले १६/१७ सालतिर पाउँदुरको प्राइमरी स्कुलमा शिक्षक भई सेवा पुर्याए । त्यस बेला उनलाई भारतीय राजदूताबासको वेलयफेयर कोषबाट ५० (भारु) मासिक तलब दिने गरिन्थ्यो ।
विश्वमोहन गौचन पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बने ३ पटक । पछि, उनी पोखरा नगर पञ्चायतमा उपप्रधानपञ्च हुँदै कार्यबाहक प्रधानपञ्च पनि भए
पछि, उनलाई पोखरा १३ भद्रकालीको स्कुलमा सरुवा गरियो । त्यहाँ हितबहादुर थापा हेडमास्टर थिए । गौचन सम्झन्छन्–त्यस बेला रमेशकान्त सिग्देल, चित्रांगद सिग्देल, तीर्थ शेरचन र म लगायतका शिक्षक थियौं ।
गौचनलाई थप अध्ययन गर्ने रहर जाग्यो । काठमाडौं हुँईकिए । बुवा रामबहादुरले हातमा ३ सय रुपैयाँ राखिदिएको उनी अहिले पनि सम्झन्छन् । काठमाडौं पुगेपछि उनी लाजिम्पाटको शान्ति विद्यागृहमा र कलेज अफ एजुकेसनमा पढे । पछि टोलवासीको सहयोगमा उनी राजनीतिमा होमिए ।
उनी वडाध्यक्ष हुने बेलामा नगेन्द्रबहादुर रायमाझी पोखराका प्रधानपञ्च थिए । अमरबहादुर कार्की प्रधानपञ्च हुँदा उनी उपप्रधानपञ्च चुनिए । त्यस बेला वडाध्यक्षहरुले प्रधान र उपप्रधान पञ्च चुन्ने चलन थियो । गाउँफर्क राष्ट्रिय अभियान जिल्ला अध्यक्ष हुँदै अञ्चल सभापति बन्न पुगे गौचन । त्यस बेला गाउँफर्क अभियानले गाउँघरमा प्रधानपञ्च लगायत जनप्रतिनिधि छान्ने गर्दथ्यो ।
ज्येष्ठता, सामाजिक अभियन र नैतिक चरित्रका आधारमा जनप्रतिनिधि छानिन्थे । बुवा रामबहादुरले आफूलाई कहिल्यै पनि भ्रष्टाचार नगर्नू र नैतिक चरित्र बचाउनु भन्ने शिक्षा दिएकाले जीवनभर त्यसलाई अनुशरण गरेको उनी सुनाउँछन् । गौचनको राजदरबारसँग पनि गहिरो सम्बन्ध थियो । २०२८ जेठ ३० गते राजा महेन्द्रले आफूलाई आदरपत्र प्रदान गरेको उनी सम्झन्छन् ।
गौचन वडाध्यक्ष बन्नुअघि पोखराको बगर साँच्चिकै बगर थियो । धोवीगौंडामा ढुंगा थुपारिन्थ्यो । मान्छे हिड्नसमेत असहज थियो । बाटोघाटो पिच केही थिएन । पृथ्वीनारायण क्याम्पसको चौरमा पराजुलीहरुले कोदो र धानको बिउ राख्दथे ।
उनले वडाको विकासमा निकै ध्यान पु¥याए । गौचन राम्रा फुटबल खेलाडी पनि हुन् । २०१६ मा उनको विवाह सिद्धिकुमारीसँग भएको थियो । गौचन दम्पतीका २ छोरा लेलिन र मानव र छोरी सुपुत्री छन् । लेलिन बेलायतमा बस्दछन् भने मानव पोखरामा आफ्नै व्यवसायमा सक्रिय छन् । अम्बिका जापानमा छिन् । उनका भाइ विनोद गीतकार र कविसमेत थिए । बहिनी वसन्ती लालचन पनि चर्चित गीतकार थिईन् ।
विश्वमोहन गौचन थकाली सेवा समितिका निवर्तमान अध्यक्ष पनि हुन् । उनलाई कवि भूपी शेरचन निकै मन पर्छ । गौचनले आफ्नी श्रीमती सिद्धिकुमारीको सम्झनामा पुस्तकसमेत प्रकाशन गरेका छन् । उनको योगदानको कदरस्वरुप धेरै संघ, संस्थाले सम्मानपत्र, कदरपत्र, अभिनन्दनपत्र प्रदान गरेका छन् । उनी डागर स्मृति समाजसेवा पुरस्कार २०६९ बाट समेत सम्मानित भएका थिए ।
जिल्ला शिक्षा समितिको सदस्य, बाल मन्दिर स्कुलका संस्थापक सदस्य, अनिवार्य निशुल्क प्राथमिक शिक्षा वडा नं. १ का सदस्य, नेपाल परिवार नियोजन संघ कास्कीका संस्थापक सदस्य, बालज्योति स्कुल बगरका संस्थापक अध्यक्ष, विश्व हिन्दू महासंघ जनजाति समन्वय समितिका संयोजक, भूपू खेलाडी मञ्चका सदस्य हुन्– विश्वमोहन । गौचनले आदिकवि भानुभक्तको शालिक पृथ्वीनारायण क्याम्पस हातामा स्थापना गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०८० मा नेपाल सरकारले उनलाई प्रवल जनसेवा श्रीपदक प्रदान गरेको थियो । एड्स रोग निवारणकै लागि अहोरात्र जुटेका गौचनको विचारमा चेतना, सतर्कता सचेतना नै यसको मूल औषधि हो । उनको नारा छ–जनचेतना जगाऔं एचआईभी भगाऔं । उनलाई विश्वास छ कुनै न कुनै दिन एड्सको औषधी पत्ता लाग्नेछ ।
धर्मकर्ममा रुचि राख्ने गौचन कसैलाई चिढ्याउँदैनन् । उनी अरुको आलोचना गर्दैनन्, निरन्तर आफ्नो कर्ममा लागि पर्छन् । उनको जीवनमा सवैभन्दा ठूलो दुःख पत्नी सिद्धिकुमारीको वियोग थियो । उनले श्रीमतीको नाममा पुरस्कार स्थापना हेतु जरो टुप्पो संरक्षण साहित्य समाजमा ३ लाख ४५ हजारको कोष स्थापना गरेका छन् ।
गौचनले पूर्व जर्मनीमा भएको विश्व युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सन् १९७२ मा जर्मन पुगेका गौचनले रुस, जर्मन, थाइल्यान्ड, बेलायत, जापान, भारत, हङकङ, कोरिया लगायतका मुलुक भ्रमण गरेका छन् । गौचन दम्पत्तीले जीवन निर्वाहका लागि काठमाडौका खिचापोखरी र टेवाहलमा १५/१६ वर्ष होटल व्यवसाय सञ्चालन गरेको देखिन्छ । प्रायः पोख्रेली गौचनका होटलमा बास बस्ने गर्दथे ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया