कोरला नाकामा ‘टाइमकार्ड’

सुन्दरकुमार थकाली २०८१ साउन २ गते १०:५०

जोमसोम ।
गत कात्तिक २७ गतेदेखि औपचारिक रूपमा उपल्लो मुस्ताङको २ गाउँपालिकाका लागि खुल्ला गरिएको (नेचुङ—लिजी) कोरला नाकामा चीन पक्षले टाइम कार्ड लगाएको छ । चीन पक्षले यसको कुनै कारण नखुलाए पनि उपल्लो मुस्ताङका सीमित नागरिकहरूमात्रै कोरलाको सीमापारि किनमेल गर्न जाने भएका कारण चीन पक्षले प्रवेशमा टाइम कार्ड लगाएको हुनसक्ने अनुमान छ ।

Advertisement


सुरुआती समयमा बेलुकी साँझ ५ बजेसम्म किनमेलका खुला गरिएको (नेचुङ—लिजी) कोरला नाकामा हिउँद यामको जाडो मौसम सकिएर फागुन महिनादेखि टाइम कार्ड लगाउन सुरु गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले कोरला नाकाको चिनियाँ भूमि लिजीमा मालसामान किनमेल गर्न जाँदा मुस्ताङी नागरिकलाई समय निर्धारण भएको जानकारी दिए ।

उनका अनुसार कोरला नाकाबाट चीन प्रवेश गर्न नेपाली समय अनुसार ८ बजेबाट १० बजेसम्म समय तोकिएको हो ।
चीन पक्षले तोकेको समयअनुसार बिहानको १० बजेपछि कोरला नाकाको ढोका बन्द हुन्छ । बिहान (८—१०) बजेको समयभित्र चीन प्रवेश गरेका उपल्लो मुस्ताङी नागरिकले दिउँसो २ बजेसम्म सीमापारि किनमेल गर्न समय दिने गरेको अध्यक्ष गुरुङको भनाइ छ ।


चीन पक्षको कार्यतालिका अनुसार उपल्लो मुस्ताङले नाकाबाट सीमापारि छिरेपछि करिब (४—६) घण्टा मालसामान किनमेल गर्न पाउँछन् । दिउँसो २ बजे कटेपछि नेपाली पक्षले मालसामान किनमेल गरी चीनको भूमिबाट बाहिरिनुपर्ने हुन्छ ।
कोरला नाका उपल्लो मुस्ताङका लागि खुला गरिएसँगै त्यस क्षेत्रका स्थानीय नागरिकहरूलाई वैकल्पिक रोजगारीको अवसर प्राप्त भएको छ ।

कोरला नाकाको दशगजा यता नेपालतर्फको खुला पठार भूमिमा उपल्लो मुस्ताङका करिब १ दर्जन नागरिकहरूले त्रिपाल टाँगेर व्यापार व्यवसाय सञ्चालन गरेका छन् । उनीहरू दैनिक जसो चिनियाँ भूमि लिजीबाट मालसामान किनेर कोरला नाकामा बिक्री गर्ने गर्छन् । कोरला नाका अवलोकनका लागि जाने आन्तरिक पर्यटकहरूका लागि चिया÷खाजा र चिनिया सामान बिक्री गर्न त्यहाँ लस्करै त्रिपाल मुनि बसेर व्यवसाय सञ्चालन गरिएको हो ।

Advertisement


लोमान्थाङ—५ का युवा छिरिङ गुरुङ पनि कोरला नाकामा चिनियाँ सामान बिक्री गर्ने र नाका हेर्न आउनेलाई खाजा नास्ताको सुविधा प्रदान गर्न फागुनदेखि व्यवसाय सञ्चालन गरेको बताउँछन् । अनुकूल समयमा नेपाली पर्यटकहरूको उल्लेख्य संख्यामा नाका हेर्न आउने गरेकाले व्यापार पनि राम्रै हुने गरेको गुरुङको भनाई छ ।

गाउँमा सामान्य खेती किसानी गर्छु, घरको काम सकिएपछि नाकामै त्रिपालमुनि बसेर व्यापार गर्ने गरेको छु,’ गुरुङले भने, ‘सिजनको बेला त १०/१० हजार दैनिक कमाइ हुन्छ, अहिले त अफसिजन भएर व्यापार ठप्पै छ ।’ उनले बर्खा यामको मौसमका कारण बेनी—जोमसोम—कोरला सडक असहज भएकाले पर्यटक आउन नसकेको सुनाए ।

चीन प्रवेश गरेका उपल्लो मुस्ताङीले दिउँसो २ बजेसम्म सीमापारि किनमेल गर्न समय दिने


कोरला नाकामा खानेपानी र शौचालयको सुविधा छैन । यद्यपि गण्डकी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयबाट विनियोजित ५० लाख बजेटले ६ कोठे प्रिफाइप सुरक्षाकर्मी बस्ने तथा उद्धार केन्द्र भवन निर्माण गरिएको छ । नेपाल—चीन कोरला नाका खुल्ला भएको ८ महिना बितिसक्दा समेत नेपालतर्फ भन्सार, इमिग्रेसन तथा सुरक्षा पोस्ट लगायतका भौतिक संरचनाहरू निर्माण हुन सकेका छैनन् ।

४ वर्षअघि नै चीनले कोरला नाकामा भन्सार, सुख्खा बन्दरगाह र इमिग्रेसन लगायत भव्य भौतिक संरचना निर्माण गर्दा नेपालतर्फको दशगजा क्षेत्र रित्तो पठार छ । चीन पक्षबाट दर्जनौं सुरक्षाकर्मीहरू नाकामा सुरक्षाका लागि खटिदा नेपाल पक्षको सुरक्षाकर्मी कोरला नाका १६ किमी यता दक्षिण छोसेरको नेचुङमा बस्ने गरेका छन् । नेपाली सेनाको एक टुकडी लोमान्थाङको थुर्लुङफाँटमा छ । नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपी र नेपाल प्रहरी भन्सार कार्यालयको जीर्ण भवनमा बसेका छन् ।


हालै कोरला नाकाको सुरक्षा तथा भन्सार राजस्व संकलनका लागि १ जना सशस्त्र प्रहरी र एक जना नेपाल प्रहरी गरी २ जना सुरक्षाकर्मी कोरला नाकाको दशगजा क्षेत्रमा खटिएका छन् ।


उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि कोरला नाका खुल्ला गरिए पनि भन्सार कार्यालयका कर्मचारीहरू राजस्व संकलन गर्न बस्ने गरेका छैनन् । नेचुङमा रहेको भन्सार कार्यालयका १ जना कार्यालय सहयोगीले कोरला नाकामा बसेर भन्सार राजस्व उठाउने गरेको पाइएको छ ।


नाका खुले पनि भन्सार आर्थिक गतिविधि चलायमान हुन नसक्दा त्यहाँ कर्मचारीहरू मन लागेर बस्ने नगरेको स्थानीयको भनाई छ । कोरला नाकाबाट चीनले आफ्नो उत्पादन आयात गर्न दिने गरे पनि नेपाल पक्षको उत्पादनमा नियमन गर्ने गरेको नाकामा बसेका एक व्यवसायीले जानकारी दिए ।

नेपाल पक्षका व्यापारीहरूलाई एउटै प्रकृतिका सामान एकभन्दा बढी लान नदिने गरेको ती व्यापारीले खुलाए । नाकामा उपल्लो मुस्ताङीले किनारा सामान, खाद्यान्न, कस्मेटिक, कृषि उपकरण, लत्ताकपडा आदी आयात गर्ने गरेका छन् । नेपालीले स्थानीय कृषि उत्पादन लगायत सामान निर्यात गर्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया