तेस्रो हिसान गण्डकी फुटसल प्रतियोगिता

मदरल्यान्ड र सिर्जनाबिच उदघाटन खेल हुने

समाधान संवाददाता २०८१ माघ १५ गते १८:४८

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट खेलको खेलतालिका सार्वजनिक भएको छ ।

Advertisement

बुधबारदेखि हुने प्रतियोगिताको उद्घाटन खेलमा मदरल्यान्ड मावि र सिर्जना मावि खेल्ने भएका छन् । ३१ विद्यालयको सहभागिता रहेको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनोट हुनेछन् ।

गण्डकी प्रदेशका लागि कास्की छनोट प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङ्जाबाट १, पर्वत, बागलुङ र म्याग्दीबाट १, तनहुँ, लमजुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्ने हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।

प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरूको सहभागिता रहेको र खेल जित्नुमात्र नभई फुटबल विकासका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक पुरन कुवँरले बताए ।

हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको व्यवस्थापन सविन मेमोरियल फुटबल क्लबले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी, र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिए ।

Advertisement

उनले कास्की छनोट पोखरा–४, गैरापाटनमा रहेको वी–फिट फुटसलमा हुने बताए । त्यसैगरी, प्रदेशस्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाइ छ । उनले कास्की छनोटमा पहिलो र दोस्रो हुने टिमले पनि कप र मेडल प्राप्त गर्ने बताए ।

सविन मेमोरियल क्लब राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए ।

टाइसिटको ड्रमा क्लबका सल्लाहकार सन्तोष पराजुली, सचिव प्रकाश पराजुली, हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मा, कास्की अध्यक्ष दिवाकर जैसी, संयोजक पुरन कँुवर लगायतले ड्र गरेका थिए । प्रतियोगितालाई युआरएल पोखराले मुख्य प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया