हिसान गण्डकी फुटसल सुरु

समाधान संवाददाता २०८१ माघ १६ गते १९:१५

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट खेल सुरु भएको छ । प्रतियोगिताको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले उद्घाटन गरे ।

Advertisement

प्रतियोगितामा डिफेन्डिङ च्याम्यिन त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल लेखनाथले विजयी सुरुवात गरेको छ । त्रिवेणीले ज्ञान सागर एकेडेमी हेमजालाई ४–१ को गोल अन्तरले हरायो । उद्घाटन खेलमा मदरल्याड सेकेन्डरी स्कुलले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो ।

प्रतियोगिताको पहिलो खेलमा सोसल पब्लिकलाई ६–३ गोलको अन्तरले हराउदै शिशु निकेतन सेकेन्डरी स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ । अर्को खेलमा व्यलडन एकेडेमी र बिएमजी सेकेन्डरी स्कुलले निर्धारित समयमा दुई÷दुई गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो । ट्राइबे्रकरमा बिएमजीले १–० गोलले हरायो ।

लिटिल स्टेप सेकेन्डरी स्कुलले र बालोदय इङलिस बोडिङ स्कुललाई ४–१ गोलले हराउँदा माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल डाइमण्ड सेकेन्डरी स्कुल सगँ २–३ गोल अन्तरले हार्न पुग्यो ।

सगरमाथा सेकेन्डरी स्कुलले लिटिल फ्लावर एजुकेसन एकेडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । हिल प्वाइन्ट सेकेन्डरी स्कुलले पनि न्युलाइट इङलिस बोडिङ स्कुललाई ५–० गोलको फराकिलो अन्तरले हरायो । अर्को खेलमा गुरुकुल विद्या सदनले पश्चिमाञ्चल सेकेन्डरी स्कुललाई ३–०, न्यु ग्यालेक्सी इङलिस सेकेन्डरी स्कुलले प्रतिभा सेकेन्डरी स्कुललाई ५–२ गोल अन्तरले हराए ।

Advertisement

जुनियर सिटिजन एकेडेमीले बाल कल्याण सेकेन्डरी स्कुललाई ५–०, अक्सफोर्ड स्कुलले करुणानिधि एजुकेसन एकेडेमी स्कुललाई १–० र पोखरा युनाइटेड एकेडेमीले पोखरा आदर्श सेकेन्डरी स्कुललाई ४–३ गोल अन्तरले पराजित गरे ।
प्रतियोगितामा खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानिया पछिल्लो समय बालबालिका मोवाइलमा रमाउने हुँदा यस्ता प्रतियोगिताले उनीहरुका लत हटाउन सहयोगी हुने बताए । उनले पूर्वाधारको विकास गरेरमात्रै विकास नहुने भन्दै मानवीय विकास आवश्यक रहेको बताए ।

उनले नागरिकको सबै भन्दा ठूलो धन स्वास्थ्य रहेको भन्दै स्वस्थ रहनका लागि खेल आवश्यक रहेको बताए । हिसान गण्डकी अध्यक्ष डा रामजी शर्मा कास्की छनोट प्रतियोगितामा ३१ विद्यालय सहभासष्ता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनोट हुने बताए ।

प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङ्जाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लमजुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् । हिसान गण्डकीको सदस्य विद्यालयबिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउँछन् ।

प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्लबले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिए । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । गण्डकी प्रदेशका लागि कास्की छनोट प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया