अर्मलाकोटमा पर्वतीय दौड, पुरुषमा गोरखाका निरज र महिलामा सिन्धुपाल्चोककी नितु प्रथम

पोखरा । पोखरा महानगरपालिका-१६ अर्मलाकोटमा आयोजित १२ किलोमिटर दुरीको पर्वतीय दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फको १२ किमी दौडमा गोरखाका निरज भट्ट क्षेत्रीले ५० मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पूरा गरी प्रथम भए भने महिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङले १ घण्टा १३ मिनेट ४२ सेकेन्डमा उक्त दुरी पार गरेर प्रथम स्थान प्राप्त गरिन्।
पुरुषतर्फ धरानका रमेश थापाले ५१ मिनेट २३ सेकेन्डमा र स्याङ्जाका गौतम श्रेष्ठले ५२ मिनेट १० सेकेन्डमा उक्त दुरी पार गरी क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे। पर्वतका आशिष कुँवरले ५२ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरी सान्त्वना स्थान प्राप्त गरेका थिए।

महिलातर्फ ओखलढुंगाकी निमा शेर्पाले १ घण्टा १९ मिनेटमा, सोही जिल्लाकै पदमकुमारी सुनुवारले १ घण्टा २२ मिनेट ४५ सेकेन्डमा तथा कास्की माछापुच्छ्रेकी एन्जिला जिटीले १ घण्टा २३ मिनेटमा उक्त दुरी पार गरी क्रमशः दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भए।
यसैगरी पोखरा महानगरपालिका-१६ स्तरीय पुरुष दौडमा सबिन गुरुङले १ घण्टा २ मिनेट ४९ सेकेन्डमा, भरत नेपालीले १ घण्टा ४ मिनेट २४ सेकेन्डमा, मनिष शर्माले १ घण्टा ४ मिनेट ५८ सेकेन्डमा तथा साजन गुरुङले १ घण्टा १५ मिनेट ३६ सेकेन्डमा निर्धारित १२ किमिको दुरी पार गरी क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरे।
वडा नं. १६ का महिलाहरू तर्फको प्रतियोगितामा आइतीमाया घलेले १ घण्टा ४२ मिनेट २ सेकेन्डमा, नितिशा भट्टराईले १ घण्टा ५ मिनेट ३३ सेकेन्डमा र पूर्णिमा भट्टराईले १ घण्टा ५२ मिनेट १२ सेकेन्डमा उक्त दुरी पूरा गरी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे।
यस पटक नवौं श्रृंखलाको दौड प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक जुम गुरुङले गुरुकुल खबरलाई जानकारी दिए।
दौडमा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले रु १० हजार पुरस्कार प्राप्त गरेको आयोजकले बताएका छन्। महिला खुला तर्फको दौडमा प्रथम हुनेलाई रु २५ हजार, दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १५ हजार र सान्त्वना हुनेलाई रु १० हजार पुरस्कारको व्यवस्था गरिएको थियो।
वडा नं. १६ का खेलाडीहरूको हकमा प्रथम हुनेलाई रु ८ हजार, दोस्रो हुनेलाई रु ५ हजार, तेस्रो हुनेलाई रु ३ हजार र सान्त्वना हुनेलाई रु १ हजार प्रदान गरिएको थियो। साथै, दौडमा सहभागी हुने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत आयोजना गरिएको थियो। भलिबलमा प्रथम हुनेलाई रु ५० हजार र दोस्रो हुनेलाई रु ३५ हजार प्रदान गरिएको थियो। त्यस्तै, ठेलो प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार र दोस्रो हुनेलाई रु १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
विजयीहरूलाई अर्मलाकोट पर्वतीय दौड कार्यक्रमका संयोजक जुम गुरुङ, पोखरा-१६ का वडाध्यक्ष अमृत तिमिल्सिना, बेलायतबाट आएका रामबहादुर गुरुङ र पिताम्बर गुरुङ, अग्रज पत्रकार राजबहादुर गुरुङ, आमा समूह, होमस्टे समूहका अध्यक्ष बबिता गुरुङलगायतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेको आयोजक समितिका सचिव ईश्वर गुरुङले जानकारी दिए।
अर्मलाकोट पर्वतीय दौड प्रतियोगिताका संयोजक जुम गुरुङले विगत वर्षभन्दा अझै उत्साहजनकरुपमा धावकहरुको उपस्थिति रहेकोमा खुसी व्यक्त गरे । स्थानीय सुबेदार ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्चालन कर्णबहादुर गुरुङले गरेका थिए ।
तपाईको प्रतिक्रिया