आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रद्वारा एपिएफ पराजित

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।
सहारा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरी बलको एपिएफलाई २–० गोल अन्तर पराजित गरेको हो । खेलको दोस्रो हाफको ७४ औं मिनेटमा आदित्य शाक्य र ८१ औं मिनेटमा स्टेफेन कमाहाले गोल गरेपछि मच्छिन्द्र क्वार्टरफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । खेलको पहिलो मिनेटमै एपिएफका मानबहादुर रानाले मच्छिन्द्रका आयुष घालानलाई फउल गरेपछि प्राप्त गरेको फ्रिकिकमा ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपर एन्जल श्रेष्ठले बचाए । २९ औं मिनेटमा मच्छिन्द्रले अकोै फ्रिकिकको अवसरमा पायो ।
त्यसमा देवेन्द्र तामाङको प्रहार आकाशियो । ३५ औं मिनेटमा करीमको फ्रिकिक प्रहारमा मनिष डाँगीको हेड बल बाहिरियो । ४५ औं मिनेटमा सशस्त्रको प्रहार मच्छिन्द्रका गोलरक्षकले बचाए । प्रदीप लामाले दुई डिफेन्सलाई बिट गर्दै प्रहार गर्न खोजेको बललाई अनुभवी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरे ।
दोस्रो हाफमा मच्छिन्द्र सुरु देखि नै खेलमा हाबी हुने प्रयास गरेको थियो । खेलको ५४ औं मिनेटमा एपिएफका मणि लामाले प्रहार गरेको फ्रिकिक खेर गयो । ७२ औं मिनेटमा मणिको पासमा एपिएफका कप्तान युवराज खड्काको हेडिङ सेकेण्ड बार हुँदै बाहिरियो । त्यसको २ मिनेटपछि मच्छिन्द्रका वैकल्पिक खेलाडी आदित्य शाक्यले टिमलाई अग्रता दिलाए ।
६७ औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका शाक्यले मैदानको मध्य भागबाट आयुश घलानले उपलब्ध गराएको बललाई ३ जना डिफेन्डरलाई बिट गर्दै सेकेन्डबार च्यापेर हानेको बलले सिधै जाली चुमेको थियो । पहिलो गोल व्यहोरेको ७ मिनेटपछि नै एपिएफले अर्को गोल खान पुग्यो । ८१ औं मिनेटमा एपिएफका सुमन श्रेष्ठले बिमल घर्तीमगरलाई लडाएपछि मच्छिन्द्रले फ्रिकिक प्राप्त गर्यो । देबेन्द्र तामाङको फ्रिकिक बललाई मच्छिन्द्रका विदेशी खेलाडी स्टेफेन कामाहाले उत्कृष्ट हेडिङ गर्दै जाली चुमाएका थिए ।
दोस्रो गोल गरेका स्टेफेन खेलको म्यान अफ दी म्याच चुनिए । मच्छिन्द्रले अब माघ २७ गते थ्रीस्टार क्लबसँग क्वार्टर फाइनल खेल्नेछ ।
खेलपछि कुरा गर्दै एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फिनिसिङमा चुक्दा हार व्यहोर्नुपरेको बताए । केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसकेपनि खेलाडीहरुको खेलबाट सन्तुष्ट रहेको उनको भनाइ थियो । ‘गेम ५०÷५० को अवस्थामा थियो । जसले गोल ग¥यो त्यसैले जित्ने हो,’ उनले भने, ‘राम्रै थियो, नराम्रो भन्न मिल्दैन तर खेल जित्नका लागि गोल चाहिन्छ । त्यो उहाँहरुले गर्नुभयो अनि जित्नुभयो ।’ मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले दोस्रो हाफमा बुनेका रणनीतिले सफल बनेको प्रतिक्रिया दिए । पहिलो हाफमा एपिएफले काउण्टरमा जोड दिएकाले समस्य हुँदा दोस्रो हाफमा उनीहरुको रोकेर अघि बढ्दा जीत संभव भएको उनले सुनाए ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बिहीबार चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी बिच हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन । उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन ५ हजार रुपैयाँबाट पुरस्कृत गर्दै आएको छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका हुन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल रहेको छ ।
तपाईको प्रतिक्रिया