आहारारा पोखरा गोल्डकपमा एनआरटी सडेनडेथको सिकार, चर्च ब्वाइज अन्तिम ८ मा पुग्यो

समाधान संवाददाता २०८१ माघ २४ गते २२:३५


पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको तेस्रो प्रिक्वार्टरफाइनल खेलमा चर्चब्वाइजले न्युरोड टिम (एनआरटी) लाई सडेनडेथमा ६–५ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएर थपिएको अतिरिक्त समयमा कुनै पनि गोेल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

Advertisement

टाइब्रेकर सडेनडेथमा पुगेपछि चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रले मिक्चेल मगरको प्रहार रोकेपछि एनआरटी पराजित भएको थियो । चर्च ब्वाइजबाट नवीन लामा, मिलन राई, बफर, फाकुन्ले, प्रशान्त लक्सम र गोलरक्षक टिकेन्द्रसिंह थापाले गोल गरेका थिए । सकल रेग्मी, कप्तान डिका र राज भुसालको प्रहार खेर गएको थियो । एनआरटीका अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, गोलरक्षक विशाल सुनार, राजीव लोप्चनले गोल गर्दा एन्जल महर्जन, जनमजय धामी, रिचर्ड विल्सन र मिक्चेल मगर असफल रहे । त्यसअघि निर्धारित समयको पहिलो हाफमा रिचर्ड विल्सनको गोलबाट एनआरटीले अग्रता लिएको थियो । भने दोस्रो हाफमा नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई बराबरी अवस्थामा पु¥याएका थिए ।

सुरुआती समयबाट नैै आक्रामक खेलेको चर्च ब्वाइजले राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन् । खेलको ७ औं मिनेटमा मिलन राईले पेनाल्टी बक्सको एजबाट हानेको भली बार भन्दा धेरै माथिबाट बाहिरियो । त्यसको २ मिनेटपछि नै फाकुन्लेको पासमा नवीन लामाले प्रहार गरेको बल एनआरटीका किपर विशालले बचाए । २३ औं मिनेटमा एनबरटीका एन्जल महर्जनले प्रहार गरेको फ्रिकिक चर्च ब्वाइजका किपर टिकेन्द्रले डाइभिङ गर्दै बचाएका थिए ।

२५ औं मिनेटमा भने एनआरटीले अग्रता बनायो । कृतिशरत्न छुन्जुले प्रहार गरेको बल चर्च ब्वाईजका गोलरक्षक टिकेन्द्रको हात बाट रिबान्ड भएपछि नजिकै रहेका रिचर्डले जाली चुमाएका थिए । ३९ औं मिनेटमा चर्च ब्वाइजका नवीन लामाले करिब २५ यार्डबाट हानेको फ्रिकिक बार भन्दा माथिबाट बाहिरिएसँगै पहिलो हाफमा एनआरटी १–० को अग्रतामा थियो ।

दोस्रो हाफमा पनि सुरुआती समयबाट नै आक्रामक बनेको चर्च ब्वाईजले केही राम्रा अवसर खेर फाल्यो । ४६ औं मिनेटमा मिलन राईको प्रहारलाई एनआरटीका रक्षकले विफल पारे । ५८ औं मिनेटमा चर्च ब्वाइजका मनीष जर्घामगरको क्रसमा बक्समा रहेका मिलन राई हेड बल टार्गेटमा रहेन । ६४ औं मिनेटमा भने चर्च ब्वाइजले बराबरी गोल फर्कायो ।

Advertisement

गौरव श्रेष्ठले डिबक्समा मिलाइदिएको पासलाई मनीष जर्घामगरले भेट्ने क्रममा एनआरटीका नरेन चौधरीलाई लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । उक्त पेनल्टीलाई नवीन लामाले सहजै गोलमा परिणत गरे । त्यसपछि अझ आक्रामक बनेको चर्च ब्वाइजले केही राम्रा अवसरमा गोल गर्न चुकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


७९ औं मिनेटमा राज भुसालले उपलब्ध गराएको बलमा नवीनको प्रहार सिधै एनआरटीका गोलरक्षक विशालको हातमा प¥यो । त्यसको ६ मिनेटपछि मिलन राईको पासमा राज भुसालले हानेको प्रहार पनि बिफल रह्यो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो ।

खेलमा पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र म्यान अफ दी म्याच भएका थिए । चर्चले अब माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग क्वार्टरफाइनल खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल थन्डरबोल्ट नर्थ युनाइटेड भारत र संकटा क्लबबिच हुनेछ ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट ५ विधाको पुरस्कारलाई सूर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दी म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन ५ हजार रुपैयाँबाट पुरस्कृत गर्दै आएको छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिइओ हरिकुमार श्रेष्ठले गरेका हुन् । हरेक खेलका फ्यान अफ दी म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको उपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ र सहउपप्रायोजकमा चरक मेमोरियल हस्पिटल छ ।

तपाईको प्रतिक्रिया