दोस्रो विश्वविद्यालय खेलकुद : त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन

पोखरा। पोखरामा बिहीबार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन बन्न सफल भएको छ। त्रिभुवनले १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो। ९ रजत तथा ४ कास्यसहित २६ पदक प्राप्त गर्दै दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो।
यस्तै, ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सुदूरपश्चिम विश्वविद्यालय दोस्रो स्थानमा रह्यो भने २ स्वर्ण र ३ रजत पदकसहित मध्यपश्चिमाञ्चल विश्वविद्यालय तृतीय स्थानमा रह्यो। सह-आयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गर्यो। काठमाडौं विश्वविद्यालयले २ रजत र ७ कास्य पदक हात पार्दा पोखरा विश्वविद्यालयले १ रजत र ३ कास्य पदक प्राप्त गर्यो। पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयले समान २ कास्य पदक तथा लुम्बिनी विश्वविद्यालयले १ कास्य पदक जितेका छन्।
विजेता खेलाडी तथा टिम च्याम्पियन टिमलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमल्सिना, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जना श्रेष्ठ, कार्यक्रम संयोजक डा. मधुसूदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरे।

पुरुष भलिबल, महिला/पुरुष एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
विश्वविद्यालयस्तरको पुरुष भलिबलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रथम भएको छ। मध्यपश्चिमाञ्चलले त्रिभुवन विश्वविद्यालयलाई पराजित गर्दै उपाधि जितेको हो। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले २१–२५, २५–१३, २५-१८, २५–२३ को सेटमा पराजित गर्दै भलिबलको उपाधि जितेको हो। यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई पराजित गर्दै तृतीय स्थान प्राप्त गर्यो। सुदूरपश्चिमले २१–२५, २५–४, २५-१७, २५–१६ को सेटमा जित हासिल गर्यो।
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा त्रिभुवन विश्वविद्यालयले ३ स्वर्ण पदक प्राप्त गर्यो। उसले २ रजत तथा १ कास्य पदकसमेत जितेको छ। यस्तै, गण्डकी विश्वविद्यालयले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गर्यो। काठमाडौं विश्वविद्यालयले १ रजत तथा ३ कास्य जित्दा पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले समान १ कास्य पदक प्राप्त गरे।
यस्तै, ब्याडमिन्टनमा पनि त्रिभुवन विश्वविद्यालय नै अग्रस्थानमा रह्यो। उसले ४ स्वर्ण र १ रजत जित्न सफल भयो। यस्तै, पोखरा, लुम्बिनी र गण्डकी विश्वविद्यालयले समान १ रजत पदक प्राप्त गरे भने काठमाडौं विश्वविद्यालयले ३ कास्य पदक जित्यो।
तेस्रो प्रतियोगिता चितवनमा
तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनले आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्ण प्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा ग्रहण गर्दै अर्को वर्ष चितवनमा भेट्ने निम्तो दिए।
तपाईको प्रतिक्रिया