थ्रीस्टार आहारारा पोखरा गोल्डकपको सेमीफाइनलमा

धनबहादुर गुरुङ २०८१ माघ २७ गते २०:३२

पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा मन्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि सेमिफाइनल पुग्ने टिमको टुंगो टाइब्रेकरबाट लागेको हो । टाइब्रेकरमा विशाल घलान र आदित्य शाक्यका प्रहार खेर जाँदा मच्छिन्द्र घर फर्कियो । घलानको प्रहार क्रसबारमा लागेको थियो भने आदित्यको प्रहार थ्रीस्टारका खेलाडी सरिन जिसीले बचाएका थिए । मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरेका थिए । थ्रीस्टारका दिपेश आले, एलेक्स, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे ।
निर्धारितको पहिलो हाफमा निकै आक्रामक बनेको मन्छिन्द्रले सुरुआती समयदेखि नै थ्रीस्टारका गोलरक्षक अभिषेक बराललाई व्यस्त राखेका थिए । खेलको दोस्रो मिनेटमा नै आन्द्रेस नियाको प्रहार बाहिरियो । त्यसको १ मिनेटपछि नै विमल घर्तीमगरले मिस गरेको बलमा मनिष डाँगी चुके । छैटौं मिनेटमा मनिषले नै ३ जना डिफेन्डरलाई छक्याउँदै गर्दै प्रहार गरेको बल पहिलो बार हुँदै बाहिरियो ।

मच्छिन्द्रलाई टाइब्रेकरमा ४–२ ले हराउएको थ्रिस्टारले अब थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याकबीचको खेलको विजेतासँग अन्तिम क्वाटरफाइनल खेल्नेछ

Advertisement

१९ औं मिनेटमा भने थ्रीस्टारको प्रहारमा सेकेन्डबार बाधक बन्यो । मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ बिट भइसकेको अवस्थामा दिपेश घलेले प्रहार गरेको बल बारमा लागेर फर्कियो । २४ औं मिनेटमा कमल श्रेष्ठको कर्नर किकमा डिबक्सभित्र अनमार्क रहेका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार बल मच्छिन्द्रका गोलरक्षक विशालले मुस्किलले बचाए ।
२७ औं मिनेटमा आयुष घलानको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेकले सहजै नियन्त्रणमा लिए । त्यसको ९ मिनेटपछि मच्छिन्द्रले अर्को सुनौलो मौका खेर फाल्यो । आयुषको पासमा अनमार्क रहेका मनिषको प्रहार बाहिरियो ।

दोस्रो हाफमा भने दुवै टिमबाट गतिलो मुभ हुन सकेन । ५१ औं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले हानेको कर्नर थ्री स्टारका खेलाडीले क्लियर गरे । ६४ औं मिनेटमा थ्री स्टारका दिपेश आलेको प्रहार पोष्ट भन्दा बाहिर गयो । ७८ औं मिनेटमा सनिशले कर्नरबाट दिएको पासमा सौरभ लिम्बुले हानेको प्रहार थ्री स्टारका खेलाडीले क्लियर गरे । ८५ औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले बक्स बाहिर प्रहार गरेका बल थ्री स्टारका खेलाडीले ब्लक गरे ।

Advertisement

त्यसपछि थप गरिएको ३० मिनेटमा दुवै टिमको फितलो प्रदर्शन रहेपछि खेल टाइब्रेकरमा गएको हो । खेलमा थ्रीस्टारका दिपेश घले म्यान अफ दी म्याच चुनिए । खेलपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए । ‘हाम्रा मिडफिल्डरहरुले राम्रो खेलेन, अनि विपक्षी टिमले अनुशासित भएर राम्रो खेल्यो अनि जित्यो,’ उनले भने, ‘हाम्रो मिडबाट राम्रोसँग फरवार्डलाई बल सप्लाई नभएकाले धेरै राम्रा अवसरहरु मिस हुन पुग्यो ।’

थ्रीस्टारका प्रशिक्षक गणेश घिमिरेले निर्धारित समयमा केही अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरसम्म पुगेको बताए । पहिलो खेल भएकाले समस्या भए पनि अब सेमिफाइनलमा सबैतर्फ राम्रो गर्ने उनले योजना सुनाए ।

थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोलीसमेत रहेको थ्री स्टारले थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । सोमबारको खेल चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी बिच हुनेछ ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया