बहिरा फुटबल २५ गतेबाट

समाधान संवाददाता २०८१ फागुन १८ गते १७:२६

पोखरा ।
पोखरामा प्रदेश स्तरीय राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता हुने भएको छ । हिरा फुटबल खेल क्लबको आयोजना युवा तथा खेलकुद मन्त्रालय गण्डकी, मुख्यमन्त्री कार्यालय गण्डकी र सामाजिक विकास कार्यालय कास्की तथा पोखरा महानगरका विभिन्न वडाको समन्वय तथा व्यवस्थापनमा ८ ए साइड फुटबल प्रतियोगिता हुन लागेको हो ।


फागुन २५ र २६ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा सुदूरपश्चिमबाहेक ६ वटै प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा गण्डकी प्रदेशको ए र बी गरी २ टिमको सहभागी रहने आयोजक बहिरा फुटबल खेल क्लबका अध्यक्ष सूर्यमोहन बरालले जानकारी दिए ।


बहिरा समुदायको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन र बहिरा व्यक्तिहरु पनि अन्य व्यक्तिसरह फुटबल खेल्न सक्छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ७५ हजार र द्वितीय हुने टोलीलाई ४० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।सर्वोत्कृष्ट खेलाडी तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत ट्रफी, मेडल र नगदसहित सम्मान गरिनेछ ।

Advertisement


प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा पवित्रा निरौला मिरोस्लाप झापाबाट ६ लाख ८५ हजार प्राप्त भएको आयोजकले जनाएको छ । त्यसमध्ये ८५ हजार क्यान्सरका बिरामीलाई प्रदान गरिएको अध्यक्ष बरालले जानकारी दिए । प्रतियोगिता गर्न १० लाख ३५ हजार रकम लाग्ने र ५० हजार रकम बचत हुने अपेक्षा गरिएको छ ।


प्रतियोगिता गर्न जमासिंह गुरुङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । समितिमा राजु श्रेष्ठ, सुमन गुरुङ, कृष्ण क्षेत्री, यशोदा श्रेष्ठ, सकुन पराजुली, जश्मिन गुरुङ र ज्ञानबहादुर भित्रकोटी सदस्य छन् ।

Advertisement

तपाईको प्रतिक्रिया