म्याग्दीका उत्कृष्ट सामुदायिक वन समूह पुरस्कृत

समाधान संवाददाता २०८२ साउन ३ गते १६:३७

म्याग्दी ।

म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीनवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने वन समूहतर्फ भगवती सामुदायिक वन उपभोक्ता समूह मालिका गाउँपालिका–६, दरबाङ प्रथम, वराहपाखो सामुदायिक वन उपभोक्ता समूह बेनी नगरपालिका–७ र ८, बेनीबजार द्वितीय तथा जनहित सामुदायिक वन उपभोक्ता समूह रघुगंगा गाउँपालिका–२, राखुभगवती तृतीय भएका छन् । पुरस्कृत हुने वन समूहका पदाधिकारीहरूलाई क्रमशः नगद १० हजार, सात हजार पाँच सय र पाँच हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisement


यसैगरी, गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय म्याग्दीको लेखापाल पदमा कार्यरत भीष्म थापा र वन तथा वातावरण संरक्षणको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रचारप्रसार गरी आवश्यक सहयोग पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

उत्कृष्ट वन समूह, कर्मचारी र पत्रकारलाई डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारी, वन अधिकृत चन्द्रमणि सापकोटा र खरिदार गोविन्दप्रसाद सुवेदीले नगद तथा सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे ।

Advertisement

डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले नियमित रूपमा हुँदै आइरहेको कार्यक्रमअन्तर्गत यस वर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जंगल क्षेत्र र वन्यजन्तु, जनावर तथा पशुपक्षीहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

म्याग्दी जिल्लामा कुल सामुदायिक वनहरू तीन सय ११ वटा रहेका छन् भने दुईवटा धार्मिक वन र एकवटा कबुलियत वन रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया