मालेपाटनमा १० गते तीजगीत प्रतियोगिता हुने

समाधान संवाददाता २०८२ भदौ १ गते १७:२९

पोखरा ।
सूर्यचन्द्र विकास समाजको आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १० गते हरितालिका तीजका दिनमा पोखरा महानगरपालिका ५ मालेपाटनस्थित बाराही माविमा कार्यक्रम हुन लागेको हो ।


प्रतियोगितामा प्रथम हुने समूहले ४० हजार रुपैयाँ, द्वितीय हुनले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुने समूहलाई १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट भेषभूषा र नृत्यलाई ३/३ हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रतियोगितामा १६ समूहले भाग लिने अपेक्षा गरिएको आयोजकको भनाइ छ । एउटा समूहमा ८ जना हुनुपर्नेछ । समूह दर्ता संस्थाको कार्यालयमा भदौ ५ गतेसम्म गर्न सकिनेछ भने दर्ता शुल्क ५ सय रुपैयाँ छ ।

Advertisement


मौलिक तीजगीतको संरक्षण, सामाजिक एकता, पर्यटन प्रवद्र्धन र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको समाजका अध्यक्ष सावित्री कोइरालाले बताइन् । कार्यक्रमले संस्कृतिप्रति युवामा रुचि बढाउने, सांस्कृतिक गतिविधि सुदृढ गर्ने, महिला तथा विपन्न समुदायको सहभागिता सुनिश्चित गर्ने उनको भनाइ छ ।


कार्यक्रममा युनाइटेड रेफरेन्स स्याबोरेटरी (यु.आर.एल.) पोखरा–८को प्रायोजन र भानु मेशिनरी सप्लायर्स पोखरा–८ को सह–प्रायोजन छ ।

Advertisement


कार्यक्रमबाट ६ लाख ५५ हजार रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ भने ६ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान छ । कार्यक्रमबाट हुने बचत रकम सहिद स्मृति पुस्तकालय सञ्चालनार्थमा खर्च गरिने कोइरालाले जानकारी दिइन् । कार्यक्रममा कास्कीका एकजना अब्बल महिलालाई सम्मान गरिनेछ ।

तपाईको प्रतिक्रिया