छुदेन काविमोको ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौँ,
यस वर्षको मदन पुरस्कार लेखक छुदेन काविमोको पुस्तक ‘उरमाल’ले पाएको छ भने जगदम्बा-श्री पुरस्कार लोक-संस्कृतिविद् प्रेमदेव गिरीलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको बुधबार बसेको साधारण सभाले २०८१ सालका लागि यी दुई पुरस्कारहरूको घोषणा गरेको हो।
गुठीले लोक-संस्कृति क्षेत्रमा विगत पाँच दशकदेखि सक्रिय गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत’ २०८१ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गरेको जनाएको छ। गिरी लामो समयदेखि नेपाली लोक भाका र संस्कृतिको खोज, अनुसन्धान र संरक्षणमा निरन्तर क्रियाशील छन्।
यसैगरी २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट काविमोद्वारा लिखित ‘उरमाल’लाई वर्षको सर्वश्रेष्ठ कृतिका रूपमा चयन गर्दै मदन पुरस्कार दिने निर्णय भएको हो। यो पुरस्कारका लागि कुल २९९ पुस्तकहरू प्राप्त भएका थिए। तीमध्येबाट गुठीले गत महिना सात पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।
‘उरमाल’सँगै श्रेष्ठ सूचीमा रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट-चीन सम्बन्ध र भारत’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ समावेश थिए। यी सात कृतिमध्येबाट ‘उरमाल’लाई पुरस्कृत गर्ने निर्णय भएको गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा तीन विधामा प्रदान गरिएको थियो। त्यतिबेला गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तक पुरस्कृत भएका थिए।
रानी जगदम्बाको निधनपछि उनको सम्झनामा २०४५ सालमा जगदम्बा-श्री पुरस्कार स्थापना गरिएको थियो। यो सम्मान पहिलोपटक गायक नारायण गोपाललाई प्रदान गरिएको थियो। गुठीले नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई हरेक वर्ष मदन पुरस्कार र नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गर्दै आएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया