काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

कास्की । काठमाडौंका रोमन महर्जन पोखरामा सम्पन्न सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । ओभरअल उपाधि जित्दै उनले १ लाख रुपैयाँ नगद हात पारे । महर्जनले ८० केजी तौल समूहमा समेत प्रथम स्थान हासिल गरी थप ५० हजार रुपैयाँ जित्न सफल भए ।
कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको ६० केजी मुनिको तौल समूहमा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।
७० केजी मुनि तौल वर्गमा तरुण विक विजेता बने भने धरानका ग्रेसविन प्रधान दोस्रो र काठमाडौंका एड्रिम राई तेस्रो भए । ८० केजी मुनिको प्रतिस्पर्धामा काठमाडौंका रोमन महर्जन प्रथम, काठमाडौंकै समिक प्रधान दोस्रो र बुटवलका आर्यन विक तेस्रो स्थानमा रहे ।
त्यस्तै, ८० केजी माथिको तौल समूहमा झापाका सौरभ प्रधान विजेता बने । विराटनगरका राहुल यादव दोस्रो र झापाकै दिपेश मैनाली तेस्रो स्थानमा परे ।
संघको आयोजनामा पहिलो पटक भएको यो प्रतियोगितामा देशभरका करिब २ सय आर्म रेष्लरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पन्जा लडाइँ भनेर परिचित यो खेल हाल व्यवसायिक हुँदै गएको र विदेशमा निकै लोकप्रिय रहेको संघले जनाएको छ । नेपालमा पनि युवापुस्ताको रुचि बढ्दो क्रममा रहेकाले पोखरामा पहिलो पटक ठूलो तयारीसहित प्रतियोगिता गरिएको हो ।
संघका अध्यक्ष नविन गुरुङले भने, ‘सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले युवाहरुलाई नयाँ खेलप्रति उत्साहित र सचेत बनाएको छ ।’ प्रत्येक तौल समूहमा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
उनका अनुसार प्रतियोगितामा खेलाडीले एक पटक हारेपछि अर्को अवसर पाउने तर दोस्रो पटक हार्दा बाहिरिने नियम लागू गरिएको थियो । एक पटक हारेर पनि दोस्रो अवसरमा जित्ने खेलाडी फाइनलसम्म पुग्न सक्ने व्यवस्था थियो । तर त्यस्तो खेलाडीले उपाधि जित्न फाइनलमा प्रतिद्वन्द्वीलाई दुई पटक पराजित गर्नुपर्ने नियम थियो ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका थिए भने पुरस्कार वितरण गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य एवं संघका सल्लाहकार भेनिस थापाले गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया