पत्रकार अधिकारीबाट चरम यातना पाएकी श्रीमतीको आलापः शरीरमा एक थोपा रगत रहेसम्म लडिरहन्छु

जन आस्था साप्ताहिकमा प्रकाशित आफ्नै कथा आफ्नै व्यथा स्तम्भ
सुनिएकै हो, देश दुनियाँका खबर लेख्ने पत्रकारको भातभान्छा सधै चिसो र श्रीमती सधै तातो (रिसले चुर) हुन्छिन् । पत्रकारका पीडा र दुखका अग्ला पहाड आफ्ना ठाउँमा होलान् । अरुका घरबार मिलाउन सधैं उद्यत हुने पत्रकारको श्रीमती हुँ । अरुले गरेका हिंसाका खबर लेख्ने पत्रकारको जीवन साथी । जो हरेक दिन त्यही व्यक्तिबाट हिंसाको सिकार हुन्छे । अर्थात भनौं पत्रकारबाटै हरेक दिन चुटिन्छे, पिटिन्छे, रक्ताम्मे बन्छे । र, न्याय खोज्दै प्रहरीको शरणमा पुग्छे । प्रहरीले समेत उसलाई पक्रन डराउँछ ।
केही दिनअघिमात्रै आइरनले निरन्तर हानेर रक्ताम्मे बनाए । अहिले पाँच ठाउँमा टाँका लगाएको छु । श्रीमतीलाई चुटेर महानता देखाउने नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारी हुन् । अरुका लागि घाँटी नै काटेर दिन तयार हुने तर आफ्ना सन्तान र श्रीमतीलाई देखिनसहने । उनीसँग विवाह गरी अत्यासलाग्दा १८ वर्ष कसी बिताएँ होला सम्झँदामात्र पनि कहाली लाग्छ ।
पोखराकै बाराही उच्च माध्यमिक विद्यालयमा उनी ९ कक्षामा पढ्थे । वार्षिक परीक्षामा सँगै प¥यौं, एउटै बेञ्चमा । त्यहीं हो– परिचय भाको । खै अल्लारे बुद्धी प्रेमको अंकुर सुरु भयो । डेढ वर्ष अफेयर पछाडि विवाह । खासमा, उनको आन्टी नाताले मेरो भाञ्जीदिदी । दिदीहरूको विवाह भइसकेको थियो । छोरीको प्रेम सम्बन्धबारे हल्ली–खल्ली चल्न थालेपछि सायद बुवाआमालाई इज्जतको डर भयो । हात माग्न आए, उमेर सानै थियो । तैपनि विवाह भयो । ०५५ सालमा मन्दिरमा बाजा बजाएरै ।
विवाहपछाडिको २÷४ महिना राम्रै चल्यो । त्यसपछि सम्बन्ध राम्रो भएन । ससुरा पोखरामा नाम चलेको सिर्जना नर्सरी चलाउनुहुन्थ्यो । विवाह गरेर घरमा भित्र्याएकी बुहारी । कोही पाहुना घरमा आएर सोध्यो को हो ? ससुरा जवाफ दिनुहुन्थ्यो, ‘यो मेरो घरमा भाडामा बस्ने आइमाई ।’ घरमा बसेर पढ्ने वातावरण थिएन । पढ्ने असाध्यै ठूलो रहर । मालेपाटन पोखरा हो, माइती । माइतीमै बसेर एसएलसी दिँए । एक विषय लाग्यो ।
त्यत्ति नै समय पेटमा जेठी छोरी हुर्किदै थिइन् । त्यतिबेलासम्म उनले पत्रकारिता थालेका थिएनन् । स्कुलमा पढाउँथे । जहाँ पनि दुई÷तीन महिना काम गर्ने, छाड्ने । यस्तैमा उनी कताबाट पत्रकार बन्न पुगे, थाहा छैन । अरुको पत्रिकामा पनि टिकेनन् । आफै प्रकाशक भएर ‘डन न्युज’ निकाल्न थाले । भनिएको छ, दैनिक तर, पत्रिका निस्कनका लागि दसैं, तिहार, नयाँ वर्ष वा यस्तै चाडपर्व आउनुपर्ने । अहिले त त्यो बन्द नै छ ।
घरको मुख्य मान्छेले नै कमाउन सकेन भने आर्थिक अवस्था डामाडोल हुने नै भयो । कमाउन नसक्ने भएपछि घरपरिवारका सदस्यमाथि जाइलाग्नु उनको कर्तव्य भयो । पिट्नेक्रम विवाह गरेको केही महिनादेखि नै सरु भएको हो । पिट्न केही कारण नचाहिने । मैले त पिटाइ सहेकै थिएँ । छोरी काखमै रहँदा पनि पिट्न छाडेनन् । ममाथि प्रहार गरेको लाती धेरैपटक छोरीलाई बज्रेको छ । काम पर्दा घर आउँथे । नभए माइतीमै समय गुजार्थेँ ।
साढे ६ वर्षको अन्तरमा कान्छी छोरी जन्मिइन् । दुईवटी छोरी, बाउ जिउँदो भएर पनि लासजस्तो भएपछि तिनको पालनपोषण, शिक्षा–दीक्षा मेरै जिम्मेवारी भयो । यो बीचको १८ वर्ष हाम्रा लागि कहिल्यै चाड, पर्व आएन । घरकै सदस्य नै होइन जस्तो व्यवहार गर्न थाले । अंशवापत आएको जग्गा बेचेर खाए । जसका लागि भनेर आफूले सारा जिन्दगी र परिवार त्यागेर आइयो त्यो नै यस्तो छुद्र परेपछि मन त कुँडिने नै भयो । तैपनि, छोरीको जिम्मेवारी काँधमा थियो । ऋण–धन गरेर माइती गुहारी पार्लर खोलेँ, त्यही गएर तोडफोड गर्ने । ज्यादती कतिसम्म भने, दिनभरि काम गरेर घर फर्कन्छु । छोरीहरूलाई तेरी आमा कहाँ पार्लर खोल्न जान्छे, दिनभर बागलुङ बसपार्क जान्छे भन्दै भड्काउने। ए बाबा ! नखाएको विष त लाग्दैन नि ।
मान्छे आफू जस्तो हुन्छ अरूमा पनि उस्तै चरित्र खोज्छ सायद । आफू दिनभर काममा गयो । मेरा लगाउने कपडा देख्नै नहुने । सबै च्यातिदिने । हुँदा—हुँदा यस्ता दिन पनि आयो लगाउने कपडा एउटै भएन । काममा जाँदा बोरामा लगाउने कपडा लुकाएर हिँड्नुपर्ने । ज्यादती लेखिसाध्य छैन । बोल्दा बोल्दै आंशुको भेल फुट्छ ।
त्यसै भनिएको होइन सायद ‘अति सर्वत्र वर्जयेत्’ अति गर्न अत्याचार नगर्नु । अतिमाथि अत्याचार भएपछि कसले सहन सक्ने ? अघिल्लो वर्ष ६ असोजमा जिप्रका कास्कीमा उजुरी गरेँ । प्रहरी इन्स्पेक्टर चन्द्रा गुरुङले थकर्काउदै भनेकी पनि हुन्, ‘दुनियाँको घरबार मिलाउँदै हिँड्छौ, आफ्नै घर व्यवहार मिलाउन सक्दैनौ ?’ तर उनले त्यहीं ‘योसँग बस्नुपर्छ भने मलाई यहीं थुनिदिनू’ भने । खै केही बिगारेजस्तो, केही नराम्रो गरेजस्तो लाग्दैन किन टेढिए उनी ? म के जानूँ ? बाहिरफेरको चोरेर खान पल्किएको मान्छेलाई घरको मीठो लाग्दैन सायद । बरु माना–चामल भर्छु योसँग कुनै हालतमा सँगै बस्दिनँ भन्यो। कोठा भाडा मै तिरिदिन्छु, पैसा यसको हातमा दिन सक्दिनँ, मुख हेर्न पनि चाहन्नँ, बैंक खातामा हालिदिन्छु भने ।
सँगै बसेर पनि, एउटै बिस्तारामा सुतेर पनि उनीसँग कोसौ टाढा थिएँ म । तर, मेरो पीडा उनीसँग छुटनु, साथ हुनु नहुनुमा एकरत्ति फरक थिएन । मेरो मुटु झै प्यारा नौ महिनासम्म कोखमा राखेर जन्मिएका दुुई टुक्रालाई मबाट छुटाए । भेट्न दिँदैनथे । लुकीलुकी छोरीहरू पढ्ने मदरल्यान्ड स्कूल जान्थेँ र भेटेर फर्कन्थेँ । यस्ती अस्तव्यस्ततामै चलेको थियो दिन । भिन्नै बस्न थालेको ६ महिनापछि ६ वैशाखमा काकाहरूले आएर फकाए । अब सुध्रिन्छ भने । बुद्धि फिर्ला भन्ने सोचेँ र फेरि घरमै आएँ तर नानीदेखि लागेको बानी किन जान्थ्यो र ? दुईचार दिन त राम्रै व्यवहार गरे । फेरि ताल उस्तै ।
ठूली छोरी नौ कक्षामा पढ्ने किशोरी थिई । सबै कुरा बुझ्थी । उसले धेरैचोटि एउटी महिला घरमा आएको र बुबासँग नजिएको देखेकी रहिछ । एकदिन मोबाइलमा उसैले म्यासेज पठाई ‘मेरो बूढा…(लेख्नै लाजमर्दा शब्द)। त्यो अनैतिक चर्तिकलाबारे छोरीले सबै कुरा सुनाइन् । सुरुमा पत्यार लागेन । एउटी विधवा आइमाई, जो फूलबारी रिसोर्टमा काम गर्छिन् । उनैसँग नजिकिएका रहेछन् । चार वर्षदेखि सम्बन्ध रहेछ । यो पत्ता लागेसँगै त्यो आइमाई बस्ने घरमा निगरानी बढाएँ । मालेपाटनको सुकुम्वासी टोलमा रहेछ घर । उनकै दिदीको सहारामा त्यो घरमा पुग्दा रंगेहात फेला पारेँ । कसरी सहन सक्छे एउटी आइमाईले लोग्ने अरू कसैको अंगालोमा बाँधिएको हेर्न ? त्यस आइमाईले हामी आमाछोरीको कपाल लुछी, त्यहाँबाट भागेर उनी घरमा आए । गल्ती पक्रिँदा पनि उनलाई लाज लागेन बरु हाँसेर बसिरहे । यो बीचमा कहिले छोरीलाई कुट्ने, कहिले मलाई । उल्टै जेठी छोरीलाई पिट्दै तँ पनि आमाजस्तै बन्न लाग्या हो भने ।
साउन अन्तिम साता सानो विषयमा विवाद हुँदा आइरनले पाँच पटकसम्म हाने । रक्ताम्मे भएँ । छोरीहरू उसकै काकालाई बोलाउन गए । काका हतारिँदै आउनुभयो । काका आउने बित्तिकै भाग्न खोजे । काकाले स्वास्नी पिटेर खुबै बहादुरी गरेको ठानेको छस् ? स्वास्नी पिटेर भाग्न पाउँदैनस् भन्दा उल्टै तँ समाजको किरा होस् समेत भन्न भ्याए । अहिले पाँच ठाउँमा टांका लगाएको छ । घाममा निस्कन हुँदैन । यही पछाडि आमा समूहको सक्रियतामा हामीले जिप्रकामा निवेदन दियौँ । तर, बिहान समाएको प्रहरीले आधा घण्टा नबित्दै छाडिदियो । म, वडा प्रहरी कार्यालय बैदाम, आमा समूह सबैलाई विपक्षी बनाएर अदालतमा मुद्दा हालेका रहेछन् । अदालतमा मुद्दा विचाराधीन भएपछि प्रहरीले पक्रन नमिल्ने बताइयो । र, छाडियो ।
तैपनि हिम्मत हारेको छैन । यस्ता घृणित व्यक्तिसँग लडिरहन मन त छैन । यद्यपि, शरीरमा एक मुठी सास र एक थोपा रगत रहेसम्म यिनका अत्याचार र अन्याय, ज्यादतीविरुद्ध सर्वदा लडिरहन्छु । – ………… कोइराला (अधिकारी)
२०७३ भाद्र ८ गते बुधबारको जन आस्था साप्ताहिकमा प्रकाशित आलेख जस्ताको तस्तै
डनन्यूज नामक अनलाइनका सम्पादक राजेन्द्र अधिकारीले पछिल्लो समय समाधान मिडिया र यसमा कार्यरत मिडियाकर्मी माथि एकोहोरो अफवाह फैलाइरहेका छन् । उनी समाधान पत्रिकाका पूर्व कर्मचारी पनि हुन् । जागिरबाट निकालिएको रिसमा उनले नानाथरी अफवाह फैलाउँदै आएका छन् । समाधान र समाधानकर्मी यस्ता अफवाहका विरुद्धमा कानुनी उपचारमा पनि जाँदैछ । समाधान माथि एकोहोरो आक्रमण गर्ने व्यक्तिको विगत बारे पाठक पनि जानकार हुनु पर्छ भनेर जनआस्था साप्ताहिकबाट यो लेख साभार गरिएको हो । हाल श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद भैसकेकाले पूर्व श्रीमतीको नाम उल्लेख गोप्य राखिएको छ– सम्पादक ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया