अशोक दर्जीको जीवनीमा फिल्म

समाधान संवाददाता २०८२ कार्तिक १४ गते ११:२६

काठमाडौं ।
बालगायक अशोक दर्जीको जीवन र संघर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिएका संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशन गरेको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।


गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथी लागेका केही आरोपको यर्थाथलाई समेटेर चलचित्रको कथा तयार गरिएको बताए । उनी भन्छन्, ‘सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरञ्जन पनि दिन्छ ।’

गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उनले बताए । उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement


गायक दर्जीले गायक बुढाथोकीकै कारण आफूले शिक्षा र सांगीतिक वातावरण पाएको जनाए । भने, ‘मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकीकै देन हो । यो कथाले मेरो संघर्ष देखाएर प्रेरणा पनि दिन्छ । म जस्ता सडक बालकलाई सपना देखाउन र गन्तव्यमा पुर्याउन सायद अन्य कसैलाई प्रेरित ग¥यो भने त्यो ठूलो उपलब्धि हुनेछ ।

सडकमा हिड्ने बालकलाई आफ्नै परिवारको सदस्य बनाउनुभएका गायक बुढाथोकीबारे म शब्दमा केही भन्न सक्दिनँ ।’
गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’मा पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । चलचित्र यही कात्तिक २१ देखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया