महेन्द्रपुलको फल्चा, सारंगीको धुन र नारायण गोपालका गीत

समाधान संवाददाता २०८२ मंसिर १९ गते १७:४९

पोखरा । रेडियो अन्नपूर्ण पोखराको रजत वर्षको अवसरमा आयोजित स्मृतिमा झलकमान र नारायण गोपाल साँझ भव्य रुपमा भएको छ । रेडियोले झलकमान गन्धर्व सारंगी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर आयोजना गरेको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि, संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तर्गत मंसिर महिनामा नेपाली साँगीतिक क्षेत्रका दुईजना स्रष्टा नारायण गोपालको मंसिर १९ र झलकमान गन्धर्वको मंसिर ६ गते परेको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।

झलकमान गन्धर्व सारंगी पाठशालाले सारंगी संरक्षणमा गरिरहेको योगदानलाई ध्यान दिँदै कार्यक्रममा जोडिएको बताए । पाठशालाका प्रतिभालाई यस्ता कार्यक्रमको अवसर आवश्यकता परेको महसुस आफूहरूले गरेको उनले उल्लेख गरे ।

Advertisement

पोखराको महेन्द्रपुलमा रहेको फल्चामा भएको कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सारंगी पाठशालाका प्रतिभालाई बाहिर ल्याउने र थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको बताए ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले झलकमान गन्धर्व र नारायण गोपालबारे चर्चा गरेका थिए । उनले दुवै स्रष्टाले सांगीतिक क्षेत्रमा गरेको योगदानबारे फेहरिस्त सुनाएका थिए । जसका कारण उपस्थित दर्शकले स्रष्टाबारे थप जानकारी पाउने अवसर प्राप्त गरे ।

कन्दरा ब्यान्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले सन्देशमूलक कार्यक्रम आयोजना भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा झलकमान गन्धर्व सारंगी पाठशालामा प्रशिक्षण गर्ने अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुति राखेको पाठशालाका प्रशिक्षक समीर गायकले जानकारी दिए ।

Advertisement

कार्यक्रममा उनीहरूले स्वर सम्राट नारायण गोपाल र झलकमान गन्धर्वका गीत एकपछि अर्को गरेर सुनाउँदा उपस्थित दर्शकले खुलेर साथ दिए । कार्यक्रममा उनीहरुले आमाले सोध्लिन् नि खोई छोरा भन्लिन् गीतबाट प्रस्तुति राख्न सुरु गरे । एकपछि अर्को गीत सुनाउँदै दर्शकको ध्यान खिच्न उनीहरु सफल भए । अन्तिममा पोखरेली अर्का स्रष्टा बुद्धि परियारको रेशम फिरिरि गीत सुनाएर प्रस्तुतीको बिट मारेका थिए ।

स्टेसन म्यानेजर सञ्जयकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा समाचार प्रमुख आरजू विष्ट सल्यानी र कार्यक्रम सञ्चालन राजाराम पौडेल र कञ्चन थापाले गरेका थिए ।


रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आएको छ । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहसमूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, सम्झनामा आदिकवि विशेष कवितावाचन, झलकमान गन्धर्व सारंगी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ ।

तपाईको प्रतिक्रिया