चिँचर खान पिप्रहर होमस्टे

प्रमिला कुँवर २०८१ मंसिर २६ गते १४:३०

पोखरा ।
स्थानीय थारु समुदायको संस्कृति, परम्परा, र जीवनशैली अनुभव गर्न चाहने पर्यटकका लागि विशेष गन्तव्य हो पिप्रहर सामुदायिक होमस्टे । नवलपरासीको देवचुली नगरपालिकामा रहेको पिप्रहर होमस्टे २०७२ सालमा स्थापना गरिएको हो । होमस्टेमा पर्यटकले थारु परिकार चिँचर, राजा रोटी, हाँसको छोयला, घोंगी, कोदोको सेल रोटी लगायतका परिकारका स्वाद चाख्न पाउँछन् ।

Advertisement


थारु जातिको बाहुल्यता रहेको पिप्रहरमा थारु, मगर, ठकुरी र गुरुङ गरि २२ घरमा होमस्टे सञ्चालन छ । थारु जातिको झुप्रो घर यहाँको विशेषता हो । जसले पर्यटकलाई रोचक अनुभव दिने होमस्टे सञ्चालकको विश्वास छ ।


पिप्रहर सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रमाया महतोले होमस्टे सञ्चालनपछि आत्मनिर्भर, आत्मविश्वासी भएको बताइन् । घरबास कार्यक्रमले नयाँ सीप सिक्ने अवसर, भाषा संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्‍याएको उनको भनाइ छ ।


पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आयोजना गरेको कार्यक्रममा उनले पर्यटकसँग अन्तरक्रिया गर्दा नयाँ संस्कृति, भाषा, विचार बुझ्ने अवसर पाएको बताएकी हुन् । टेवानले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २४ र २५ गते दुई दिने भ्रमण कार्यक्रम गरेको छ । ८ औं संस्था स्थापना दिवसको अवसरमा टेवान टोलीले चितवनको सौराह र नवलपुरको देवचुली स्थित पिप्रहर सामुदायिक होमस्टेको भ्रमण गरेको हो ।


कार्यक्रममा ३० जना पर्यटन महिला व्यवसायीको सहभागिता थियो । कार्यक्रमलाई चितवन रत्ननगर नगरपालिका, चितवन उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ चितवन, रेवान, साना पर्यटन व्यवसायी संघ चितवनले सहयोग गरेका हुन् ।

Advertisement


‘हाम्रो पहिचान भनेको भाषा संस्कृति हो । यसलाई संरक्षण गर्नुपर्छ, स्थानीय आर्गनिक खाना खानुपर्छ भन्ने घरबास कार्यक्रमले चेतनाको विकास गराएको छ,’ महतोले भनिन्, ‘पर्यटन क्षेत्रमा विकास गर्न सकेमा युवालाई विदेश जानबाट रोक्न सकिन्छ । आफ्नो ठाउँको विकास आफैं गर्न सकिन्छ । घरमा बनाएको परम्परागत खाना, हस्तकला, अन्य उत्पादनहरू बेचेर परिवारको जीवनस्तर उकासिएको छ ।’


होमस्टेले थारु समुदायको परम्परा, पहिचान र संस्कृतिलाई बचाइराख्न तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको होमस्टेका उपाध्यक्ष सोमनाथ महतोले बताए ।


उनका अनुसार होमस्टेमा परम्परागत हस्तकला सामग्री किन्न पाइने, वन्यजन्तु अवलोकन, चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेकोले होमस्टे वन्यजन्तु प्रेमीका लागि आकर्षक गन्तव्य हो । पर्यटकले हात्ती सफारी, जिप सफारी, र बर्ड वाचिङको मज्जा लिन सक्नेछन् । स्थानीय जैविक उत्पादनमा प्राथमिकता दिइएकाले हरित पर्यटनको उत्कृष्ट गन्तव्य हो ।


होमस्टेमा ब्रेकफास्ट, ननभेज डिनर र बेडको ९ सय रुपैयाँ रहेको महतोले जानकारी दिए । हालसम्म होमस्टेमा ५५ हजार बढी पर्यटक आएको तथ्यांक छ । प्रचारको कमिले विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकको संख्या बढिरहेको छ । पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिव २ किमि दक्षिणर्फ लाग्नुपर्छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेकाले होमस्टे वन्यजन्तु प्रेमीका लागि आकर्षक गन्तव्य हो । पर्यटकले हात्ती सफारी, जिप सफारी, र बर्ड वाचिङको मज्जा लिन सक्नेछन् ।


पिप्रहर सामुदायिक होमस्टेले उत्कृष्ट व्यवस्थापन, सांस्कृतिक प्रवद्र्धन र पर्यटकीय योगदानका कारण विभिन्न पुरस्कार प्राप्त गरेको छ । नेपाल पर्यटन बोर्डले स्थानीय संस्कृति संरक्षण र सामुदायिक पर्यटनमा उत्कृष्ट योगदान दिएकोमा सम्मान गरेको छ ।


नयाँ पूर्वाधार विकास, थप सांस्कृतिक कार्यक्रम सञ्चालन, र पर्यावरण संरक्षणका परियोजनाहरू कार्यान्वयन गर्ने योजना रहेको सुनाए । होमस्टेले पर्यटन क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई सशक्त बनाउँदै, नवलपुलाई मात्र नभइ, सिंगो नेपाललाई पर्यटनको विश्व मानचित्रमा राख्न योगदान पुर्‍याएको उनको भनाइ छ ।

जति प्रचार गर्‍यो त्यति पर्यटक भित्राउन सकिन्छ भन्ने विचार सहित भ्रमणमा निस्किएको टेवान अध्यक्ष कमला गिरीले बताइन् । पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै पोखरा घुम्ने निम्तो दिइएको उनले बताइन् ।


‘जति धेरै प्रचार र प्रवर्द्धन गरिन्छ, त्यति नै धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्छ,’ अध्यक्ष गिरीले भनिन् ।


यातायातको असुविधा, सुरक्षा सम्बन्धी चुनौतीहरू, वातावरणीय प्रदूषण, सेवा क्षेत्रको कमजोरी जस्ता समस्याले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने साथै पर्यटक नआउँदा पर्यटन क्षेत्रबाट हुने आम्दानी समेत घट्ने उनको भनाइ छ ।


पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकारी निकाय, निजी क्षेत्र, स्थानीय समुदाय, र पर्यटन व्यवसायीहरु क्रियाशील हुनुपर्ने बताउँदै गिरीले सामूहिक प्रयासले मात्र पर्यटन व्यवसायलाई दीगो र सफल बनाउन सकिने उल्लेख गरिन् ।


रत्ननगर पर्यटन विकास समितिका अध्यक्ष भेषराज दवाडीले पोखरा र सौराहको विशेषता फरक भएकाले प्रतिस्पर्धी नभएर पुरक भएको बताए । सौराह आएका पर्यटकलाई पोखरा र पोखरा आएकालाई सौराह पठाउन सकियो भने पर्यटनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।


चितवन राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु संरक्षणको दृष्टिले अझ प्रभावकारी बनाउन तथा यसलाई विश्वभर प्रख्यात बनाउने उद्देश्यले ‘वन्यजन्तु तथा जैविक विविधता क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।


वन्यजन्तुको संरक्षण, पर्यावरणीय सन्तुलन, र जैविक विविधताको प्रवद्र्धन गर्ने साथै, पर्यटन गतिविधिलाई व्यवस्थित गर्दै स्थानीय समुदायको सहभागिता र लाभ सुनिश्चित गरिने दवाडीको भनाइ छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया