नेल्सनको जन्मदिनमा साहारालाई सहयोग

पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप नजिकिँदै गर्दा विभिन्न तवरबाट सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा गुरुङ गहना घरका सञ्चालक सीमा गुरुङ र ओमकार गुरुङले आफ्ना छोरा नेल्सनको जन्मदिनमा सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी मेमोरियल सहारा फुटबल एकेडेमीमा सहयोग गरेका छन् ।
नेल्सनको २५ औं जन्मदिनमा एकेडेमीमा आश्रित ३० बालकलाई ज्याकेट हस्तान्तरण गरिएको हो । यस्तै, १० हजार १ सय १५ रुपैयाँ सहाराको अक्षयकोषमा सहयोग आएको छ । गुरुङ दम्पतीले सञ्चालन गरेको गुरुङ ट्रेडर्सबाट ३ बोरा चामल तथा आहारा गोल्डकपलाई ५ हजार रुपैयाँ नगद सहयोग गरेको सहारा क्लबका सचिव टंक पौडेलले जानकारी दिए ।
गुरुङ गहनाघरका सञ्चालक सीमा गुरुङ, नेल्सन गुरुङ लगायतले एकेडेमीमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । नेल्सनको जन्मदिनमा एकेडेमीमै बालकहरुको साथमा केक काटियो । पोखरा १७ निवासी गुरुङ दम्पतीले सहारालाई विगतदेखि पनि सहयोग गर्दै आएका छन् ।
कार्यक्रममा सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्षहरु विक्रम थकाली र केशवबहादुर थापा लगायतको उपस्थिति थियो । सहारा क्लब पोखराले यही माघ २२ देखि पोखरा रंगशालामा २४ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिता गर्दै छ ।
१२ टिमले भाग लिने सो प्रतियोगितामा आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच उद्घाटन खेल हुनेछ । फाइनल फागुन ३ मा हुनेछ । २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए ।
तपाईको प्रतिक्रिया