विकृतिले गाँजेको संगीतक्षेत्र

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १३:४०

सुमन थापामगर

केही समय अगाडि काठमाडौं जाँदा सार्वजनिक सवारीसाधन प्रयोग गरेको थिएँ । गाडीमा र्‍याप गीत बजिरहेको थियो । जमाना यस्तो थियो, र्‍याप भनेपछि समाजले नाक खुम्च्याउँथ्यो । खैर आजभोलि र्‍याप गीत सुन्ने युवापुस्ताको संख्यामा वृद्धि भएको छ । समय अनुसार अहिलेका युवापुस्ताले भने र्‍याप गीतलाई मन पराइरहेका हुन्छन् । म खासै र्‍याप गीतमा रमाउने व्यक्ति होइन, कहिलेकाहीं सन्देश राम्रो दिने खालको हो भने सुनिहाल्छु पनि ।

जीवनका अनेक यात्रा अनि यही यात्राबीच अचानक गाडीमा सुनेको उक्त गीतमा यस्ता अश्लील शब्द प्रयोग गरिएका थिए, जसलाई उच्चारण गर्न समेत सक्दिन । उक्त र्‍याप गीत सुन्नासाथ मलाई लाग्यो छाडापनले संगीतलाई गाँजिसकेछ । गीतको अन्तिममा गायक आफैंले आफ्नो नाम व्यक्त गरेका छन्, ‘भिटेन’ । भिटेन युवापुस्ता माझ चर्चित छ । उनको र्‍याप गीत नसुन्ने पोखरासहित अन्य सहरमा कमै होलान् । मैले उनको नाम सुनेको भएपनि गीत सुनेको थिइन । काठमाडौं जाँदा पहिलोपटक सुन्ने अवसर मिल्यो, सर्वजनिक बसमा । गीतको सन्देश, भावले मटु नछोइकानमा अश्लील शब्दको स्पर्श भो ।

Advertisement

खैरसार्वजनिक तथा अन्य कुनै स्थानमा बोल्न समेत नसकिने शब्द संगीतमा प्रयोग भएको थाहा पाउँदा दुख त अवश्य लाग्यो नै अनि सोचे, ‘साँच्चै उनले त्यस्तो अश्लील शब्द प्रयोग गरेको गीत आफ्नो परिवारलाई सुनाए कि सुनाएनन् होला ? भनौ आफ्नै चेलीबेटीलाई कस्तो लाग्यो होला उनको गीत ? संगीतकार अमर गुरुङ भन्थे, ‘संगीत मनोरञ्जन होइन आत्मारञ्जन हो । संगीतले व्यक्तिको आत्मालाई छुनुपर्छ ।’ आजभोलिका केही गीतसंगीतमा भने आत्मालाई छुने कुरा त परै जाओस्, सस्तो लोकप्रियताका लगि सार्वजनिकस्थलमा प्रयोग गर्न नमिल्ने शब्द प्रयोग गर्नेको संख्या बढेको छ । गीत गाउनुको अर्थ अश्लील शब्द प्रयोग गर्नु होइन ।गीत गाउनु कला हो, कलाकरिता भनेका प्रत्यक्ष छाडापन होइन । कलाका विषयमा हाँस्य कवि शैलेन्द्र सिम्खडाका शब्द सपाटी लिनु पर्दा कला भनेको रबरको गोली होस् जसले घाइते मात्रै बनाओस् ।

आजभोलिका बालबालिकाले ¥याप गीत नै गाउँछन् । नेपालका लोकभाका तथा गाउँतिर सुन्न सकिने भाकाभन्दा र्‍याप नै उनीहरुलाई कन्ठ हुन्छ । र्‍याप गीतमार्फत बालबालिकाले धेरै कुरा सिकिरहेका हुन्छन् । यस्तो अवस्थामा बालबलिका कलिलो मष्तिस्कमा कस्तो असर पर्‍यो होला ? र्‍याप गाउनै र सुन्नै हुँदैन भन्ने मेरो तात्पर्य होइन । तर गाए पनि कलाकारले त्यस्तो छाडा, सुन्नै र बोल्न नसकिने शब्द गीतमा प्रयोग गर्नु हुँदैन भन्ने मात्र हो । गीतमा प्रयोग भएका शब्दले कस्तो असर गरिरहेको छ भन्ने सोच्नुपर्छ र अपरिहार्यछ ।

Advertisement

यो त एउटा उदाहरण मात्र हो । नेपाली संगीतमा अहिले चाँडै चर्चामा आउन पाइने र हिट हुने ध्याउन्नले २ अर्थ लाग्ने अनि अश्लील शब्द राखेर गीतसंगीत रचना गर्नेको संख्या ह्वात्तै बढेको छ । नराम्रा मात्र होइन केही गीतसंगीतले राम्रो अनि मिठासपूृर्ण शब्दले कलाकार चर्चामा आइरहेका छन् । प्रकाश सपुतको ‘बोल माया’, कुलेन्द्र विश्वकर्माको ‘सालको पाप टपरी’, हेमन्त रानाको ‘सुन साँइली’ र केही समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको खेम सेन्चुरी र सम्झना भण्डारीको ‘कपालु कोरेर’ लगायतका प्रशस्त उदाहरण छन् । यी लगायतका गीतले स्रोताको मन जितेको छ र गीतप्रति आउने कमेन्ट सकारात्मक छ । यस्ता गीतले नेपालको परिवेश तथा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता र त्यसपछि आएका समस्याका विषयलाई समेटिएका छन् । यस्ता गीतले हरेक नेपालीको मन छोएको छ । तर यसबीचमा पनि केही क्षणको चर्चाका लागि २ अर्थी र अश्लील शब्द प्रयोग गर्नेको गीतको संख्या कम भने छैन ।

यहाँ सामान्य समयमा सार्वजनिक हुने गीतसंगीतमा मात्र होइन, विभिन्न चाडपर्वलाई लक्षित गरेर सार्वजनिक भएका गीतसंगीतमा समेत चाडपर्वसँग सम्बन्धित शब्दभन्दा पनि २ अर्थी र अश्लील शब्द प्रयोग भइरहेका छन् । यो पटकको दसैं हामीबाट बिदा भइसकेको छ, र नेपालीको अर्को दास्रो ठूलो पर्व तिहार पनि घर आँगनमा आइसकेको छ । यी महान् पर्वका अवसरमा पनि कलाकारले गीतसंगीत सार्वजनिक गरे यो वर्ष पनि । दसैं तथा तिहारमा मात्र होइन, नेपालमा मनाइने तीज, होली लगायत विभिन्न चाडपर्वलाई लक्षित गर्दै यहाँ गीत संगीत सार्वजनिक गर्ने चलन छ । यस्ता मौलिक परम्परा तथा नेपालका संस्कृतिको पहिचान दिने यस्ता चाडपर्वका अवसरमा सार्वजनिक गरिने गीतसंगीतमा पनि छाडापन भित्रिन थालेको भान हुन्छ । चाडपर्वको विषेशता र त्यससँग सम्बन्धित भन्दा उच्छृंखल खालका गीत आउन थालेका छन् बजारमा ।

लामो समय संगीतको क्षेत्रमा संघर्षरत रहेका कलाकार दुर्गेश थापा यो वर्षको तीजबाट चर्चामा आए, ‘हामी पनि नाच्नुपर्छ बिच्च–बिच्चमा’ गीतमार्फत् । गीतको मोडलिङमा राम्रै जमेका थापालाई गाउन पनि सक्छन् भन्ने यो गीतले प्रमाण दियो । तर यही गीतको चर्चाले हौसिएका दुर्गेशले यही गीतलाई नेपाली चलचित्र ‘छ माया छपक्कै’ का लागि प्रयोगमा ल्याए, जुन गीतमा एउटा लाइन थियो, ‘यसपाली त दीपाश्री ब्याउने कुरा छ’ । गीतको यो लाइनले विवाद ल्यायो । कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले गीतमा ब्याउने कुरा छ नभएर बिहे हुने कुरा छ भन्दै एउटा अनलाइनमा स्पष्टीकरण दिए । तर उक्त गीत सुन्ने हरेकले थाहा पाएका छन्, गिरीले स्पष्टीकरण दिएपनि त्यहाँ बिहे हुने कुरा होइन ब्याउने कुरा छ नै उल्लेख गरिएको छ ।

ब्याउने भन्ने शब्द महिलालाई होच्याएर प्रयोग गरिने शब्द हो । बच्चालाई जन्म दिने यो शब्दको अर्थ भएपनि समाजमा समेत यो शब्द प्रयोग हुँदैन आजभोलि । त्यहीमाथि पनि दीपाश्री अविवाहित र नेपालमा अविवाहित महिलालाई यो शब्द प्रयोग गर्नु नै उचित थिएन । त्यसैले यो गीत सार्वजनिक भएदेखि नै नकारात्मक टिप्पणि आउन थालेको थियो । चलचित्र चलाउने र हिट हुने माध्यमका रुपमा गीतमा यस्तो शब्द राख्नु उचित थिएन । हिट हुनका लागि केही राम्रा शब्द भएका गीत पनि समावेश गर्न सकिन्थ्यो ।

दुर्गेश यो गीतका लागि मात्र होइन, अहिले तिहारका लागि उनले सार्वजनिक गरेको गीतमार्फत पनि विवादमा तानिएका छन् । युट्टुबमा सार्वजनिक भएको ‘ह्याप्पी तिहार, चिसो बियर, डन आयो डन, छाना माथि फर्सी’ गीतलाई हेरेपछि मन पराउनेभन्दा पनि नकारात्मक कमेन्ट गर्नेको संख्या बढी छ । तिहारको महत्वलाई यो गीतमा दर्शाइएको छैन । गीत सुन्दा तिहार पर्वको लागि बनाइएको जस्तो पटक्कै लाग्दैन ।

सदियौंदेखि चलिआएको परम्पराअनुसार तिहारमा दिदीबहिनीको हातबाट टीका थापेर रमाइलो गर्दै साथीभाई जम्मा भएर देउसीभैलो खेल्ने हो । तर यो गीतले भने तिहारको संस्कारलाई तिरस्कार गरेको जस्तो मात्र देखिएको छैन, गीत भिडियो हेर्दा लाग्छ उनले मादक पदार्थको प्रचार गरिरहेका छन् । र अर्को कुरा देउसी भैलो वियर पिउँदै डिस्को तथा डान्सबारमा गएर नाच्ने परम्परा होइन । मादक पदार्थ पिउनै हुँदैन भन्ने होइन । दिदीबहिनीले सगुनस्वरुप ल्याइदिए पिउने हो । मलाई लाग्छ, कुनै पनि नेपाली तिहारमा देउसीभैलो खेल्नका लागि डिस्को तथा डान्सबारमा जाँदैनन् होला । गीतमा ह्याप्पी तिहार शब्द जबरजस्ती राखिएको छ ।

तीजका गीतको त कुरै नगरौं । तीजको गीत त झन्, माइती र चेली, दाजुभाइ तथा दिदीबहिनी, चेलीले श्रीमानका घरमा भोग्नुपरेका पीडाको पोको फुकाउने माध्यम बन्नुपर्नेमा रत्यौली जस्तै र मायाप्रेमका गीत बनिरहेका हुन्छन् । तीजको गीतको अस्तित्व नै नरहने पो हो कि भन्ने सोच पनि आउने गर्छ कहिलेकाहीं । र्‍याप गीतमा मात्र होइन, कुनै कुनै लोकदोहोरी गीतमा समेत छाडा शब्द प्रयोग भइरहेको हुन्छ । लोक तथा दोहोरी गीतमा नयाँपन भित्र्याउने नाममा त्यस्ता शब्द संयोजन गरिँदा लोकसंगीत पनि धरापमा पर्न थालेको हो कि ? नयाँपन अवश्य भित्र्याउने हो, तर मौलिकतालाई लत्याएर होइन ।

अहिले नेपाली गीतसंगीतको बजारमा सस्तो लोकप्रियताका लागि यस्ता कमसल शब्द प्रयोग भइरहेका छन् । सञ्चारको युग, युट्युबमा कुनै नयाँ गीतसंगीत वा भनौं चलचित्र आएपछि के कस्तो रहेछ भन्दै हेर्ने गर्छन् । नयाँ विषय पाएपछि धेरैले हेर्छन् र ट्रेन्डिङमा आउँछ यसरी ट्रेन्डिङमा भनेको मेरो सिर्जना र कलालाई मन पराइयो भन्नु होइन । सकारात्मक वा नकारात्मक, जे भएपनि प्रतिक्रिया दिनका लागि हेर्नै पर्ने हुन्छ ।

गीतसंगीतको बजार अहिले धेरै परिर्वतन भएको छ । कुनै बेला क्यासेटको जमाना थियो, तर अहिले त्यो जमानाबाट परिर्वतन हुँदै युट्युबसम्म आएको छ । कलाकारलाई अहिले स्टेज कार्यक्रममाफर्त बाँच्नुपर्ने हुन्छ । र स्टेजमा प्रस्तुती राख्नका लागि नाच्ने र यस्तै शब्द प्रयोग भएका गीत हुनुपर्छ भन्ने गलत बुझाई हो । समय सान्दर्भिक र गाउँपाखाका भाकालाई टप्प टिपेर बनाइएका नेपाली गीतसंगीतले अहिले पनि लोकप्रियता धानिरहेको छ । धेरै यस्ता गीत छन्, जसले नेपालीको पीडालाई व्यक्त गरेका छन् । अहिलेका नेपाली युवापुस्ताको अवस्था र समस्याका बारेमा बनेको त्यस्ता गीतले धरैको मन छोएको हुन्छ र वर्षौंसम्म पनि उक्त गीत कालजयी बन्छन् । पुराना कलाकारमा नारायण गोपाल, नातीकाजी, अरुण थापा, अरुणा लामा, तारा देवी,भक्तराज आचार्य लगायतका गीतसंगीतलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । यी कलाकारका गीत पुरानै भएपनि अझैसम्म सुनौं–सुनौं लागिरहन्छ । हरेक पुस्तालाई यी कलाकारको गीतसंगीत मन पर्छ ।

हो, समयसंगै गीतसंगीतको शैली परिर्वतन हुनुपर्छ । तर परिर्वतनको अर्थ अश्लील र २ अर्थी शब्द प्रयोग गर्नु होइन । शैली परिर्वतन होस्, तर संगीत निखारिएर मात्र । र्‍याप गीतसमय अनि युवापुस्ताको माग हो । यस्ता गीतसंगीतले युवापुस्तालाई तानिरहेको छ । केही समय पहिलेका र्‍याप गीतमा अश्लील र छाडा शब्द प्रयोग भएका थिएनन् र पनि बजार लिएका थिए त्यस्ता गीतले । अहिलेको र्‍याप मात्र होइन, अन्य गीतसंगीतमा पनि यस्तै भद्दा शब्द प्रयोग हुन थालेका छन् । अहिलेका युवापुस्तालाई अन्य गीतभन्दा पनि आफूलाई मनपर्ने र्‍याप गीतका शब्द कन्ठस्तै आउँछ । समयको माग भन्दैमा सुन्नै नसकिने खालका गीतसंगीत बजारमा ल्याउनु आफ्नै अस्तित्व मेटाउनु हो । यस्ता शब्द प्रयोग भएका गीतले केही समय चर्चामा ल्याए पनि पछि गुमनाम बन्नुपर्ने अवस्था आउन सक्छ ।

गीतसंगीत मान्छेको भावनासँगै बग्नुपर्छ । केही समयको लागि चर्चामा आउने र हिट हुने माध्यम मात्र गीतसंगीत अवश्य बन्नु हुँदैन । छाडा शब्द बढी प्रयोग भइरहँदा समाज कतातर्फ मोडिइरहेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ । विदेशी संस्कृतिलाई पछ्याउँदा आफ्नो संस्कृतिलाई कतातर्फ लैजाँदै छु भन्ने बझ्नुपर्छ । कलाकार राष्ट्रको गहना हुन्, यसको मतलब प्रयोग गरेर सजाएर राख्नुपर्छ होइन । राष्ट्रको प्रतिनिधित्व गर्दै उनीहरु विभिन्न देशमा स्टेज तथा अन्य कार्यक्रमका लागि गइरहेका हुन्छन् । त्यसैले पनि नेपालको संस्कृति जोगाउनका लागि कलाकार सहित सबैको भूमिका उत्तिकै हुन्छ ।

समय र परिस्थिति तथा युवापुस्ताको माग हुन्छ भन्दैमा छाडा शब्द प्रयोग गर्दै गीतसंगीत सार्वजनिक गर्नु कहाँसम्मको जायज हो त ? भन्ने विषयमा त्यस्ता कलाकारले सोच्नैपर्ने हुन्छ । त्यस्ता गीतसंगीत अवश्य पनि कलाकारले आफ्ना परिवार तथा सन्तानलाई त अवश्य पनि देखाउँदैनन् र सुनाउँदैनन् होला ? यदि युट्युबमा त्यस्ता छाडा, २ अर्थी र अश्लील शब्द, जुन हाम्रो समाजले पचाउँदैन, त्यस्तो शब्द आफ्नो सन्तान तथा अन्य परिवारका सदस्यलाई सुनाउँदैनन् भने अन्य सुन्नेको पनि परिवार र बालबच्चा होलान्, यस्तो शब्दबाट उनीहरुले के सिके होलान् भन्ने सोच्ने कि नसोच्ने त ? गीतसंगीत तथा कलाकारिताको क्षेत्रमा लागिसकेपछि क्षणिक हिट र चर्चामा आउनका लागि यस्ता शब्द प्रयोग गर्दा र त्यो शब्द बालबच्चाले सुन्दा के सिक्छन् ? त्यो भने पक्कै सोच्नैपर्छ ।

किन कि बालबच्चाले जे देख्यो त्यही सिक्ने हो र जे सुन्यो त्यही भन्ने हो । अर्को कुरा नेपालको यो जमानाका बालबालिकालाई सामाजिक सञ्जालका विषयमा सबै जानकारी हुन्छ र उनीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्ने बानी परिसकेको छ । झन् युट्युबको विषयमा त धेरैले जानिसकेका छन् । यदि छाडा शब्द प्रयोग गरेर गीतसंगीत बजारमा ल्याउने कलाकारले आफ्नो परिवार तथा सन्तानलाई त्यस्तो शब्द सुनाउन सक्दैनन् भने अरुको पनि त्यस्तै परिवार छ र उनीहरुको बालबच्चाले के सिक्छन् भन्ने विषयमा पनि सोच विचार गर्ने कि ? छाडा शब्द प्रयोग गर्नुभन्दा पनि गहकिला शब्दको प्रयोग गरेर संगीत संयोजन गर्न सकिन्न र ?

नियन्त्रण गर्नका लागि कुनै माध्यम नभएर होला सायद । नेपालमा यस्ता छाडा शब्द प्रयोग भएका गीतसंगीतलाई नियन्त्रण गर्न कुनै सेन्सरबोर्ड छैन । सेन्सरबोर्ड भएको भए सायद यस्ता छाडा, अश्लील र संस्कृति नै भड्काउने किसिमका शब्द प्रयोग भएको गीत बजारमा आउन कमी पो हुन्थ्यो कि सायद ? बेला मौकामा यस्ता छाडा गीतसंगीतका लागि सेन्सरबोर्ड स्थापना गर्ने कुरा कलाकारबीच नउठ्ने पनि होइन । केही अग्रज कलाकारले पनि गीतसंगीतमा छाडापन आएको र विकृतिलाई नियन्त्रण गर्नुपर्ने कुरा उठाइरहेका हुन्छन् । तर यो विषय कामभन्दा कुरामा मात्र सीमित भएको छ । नेपाली गीतसंगीतको जर्गेना गर्नुछ भने सेन्सरबोर्ड तथा अन्य कुनै निकायको स्थापना गरेर छाडा र अश्लील शब्द प्रयोग भएका गीतसंगीतलाई नियन्त्रण गर्नै पर्छ । होइन भने नेपाली गीतसंगीतको भविष्य धरापमा पर्नेमा कुनै शंका रहने छैन ।

अन्त्यमा, परिर्वतन जरुरी छ, तर छाडापन अवश्य होइन । सस्तो लोकप्रियताका लागि यस्ता कमसल हर्कत गर्ने सोच्दा हुन्, ‘बरु बद्नाम होस्, गुमनाम नहोस् ।’ अनि सोच्छु बद्नाम पनि के हुनु ?

तपाईको प्रतिक्रिया