परिवर्तनको अनुभूति

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १४:५०

राजेन्द्र आचार्य

चाडबाडको मौका पारेर केही दिन तराईका ग्रामिण परिवेशसँग घुलमिल हुने मौका पाइयो । खासगरी पोखरा बस्न थाले यता घर तराईमै भए पनि आवतजावत पातलिन थालेको केही वर्ष हुन थाल्यो । पछिल्लो समय ग्रामिण परिवेशमा पनि विकासका केही रेखा कोरिन थालेछन् ।

यसअघि सहर बजारमा मात्र विकासको अनुभूति हुने गरेकोमा अब ग्रामिण परिवेशमा पनि त्यसको केही लहर छाउन थालेछन् । थुप्रै वर्षसम्म उही भत्केको, बिग्रेको सडकमा अब पिच हुन थालेछ । पिच नै नभए पनि कमसेकम ग्राबेल भने पनि भएका छन् । यो परिवर्तनको तीव्रता पछिल्लो स्थानीय निर्वाचन पछिको हो । आफ्नो गाउँलाई समृद्ध बनाउने र जनतालाई विकासको केही न केही अनुभूति दिलाउनुपर्ने बाध्यता अहिले जनप्रतिनिधिलाई छ । त्यसकै परिणामस्वरुप केही न केही काम भएकै छन् ।

Advertisement

कामस“गै अनियमितता र गुणस्तरको चर्चा पनि नभएको होइन । जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुम्म डुबे भन्नेसम्मका सामाग्री सञ्चार माध्यममा आइरहेकै हुन् । तर यहाँ ति तमाम विषयमा भन्दा पनि आखाले देख्दा परिवर्तन महसुस भएको विषयमात्र चर्चा गर्न खोजिएको हो । अनियमितता र गुणस्तरबारे हेर्ने, छानविन गर्ने निकाय छन् । यी कामको जिम्मा तिनै निकायलाई सुम्पिन चाहन्छु । नदेखिएका विषयमा नभई यहाँ देखिएका विषयमा चर्चा गर्न खोजिएको हो ।

माथि नै उल्लेख गरिएझैं अहिले जनप्रतिनिधिलाई काम गरेर देखाउने नैतिक र सामाजिक दबाब छ । काम नगरे जनताको विरोधको सामानामात्र गर्नुपर्ने होइन, आफ्नो सक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले विकासको काम त गर्नु नै छ । त्यसमाथि फेरि आउने अर्को चुनावमा भाग लिने आधार पनि कामको मुल्यांकन नै हो । त्यसैले विगतका जनप्रतिनिधिमा भन्दा अहिलेकोमा केही न केही कामप्रतिको लगाव देखिन्छ । त्यसमा पनि जनतामा पछिल्लो समय काममा खबरदारी गर्ने प्रचलन ह्वात्तै बढेको छ । काम गर्न नसके विरोधको चरम सामना गर्नुपर्ने भएकाले जनप्रतिनिधिले सकेसम्म त्यो परिस्थिति नआओस् भन्ने चाहन्छन् ।

Advertisement

असक्षमताको बिल्ला भिर्न कोही पनि चाहाँदैनन् । एउटै स्थानीय निकायमा वडैपिच्छे विकासमा प्रतिष्पर्धा छ । अझ युवा जनप्रतिनिधिको जोशको त कुरै नगरौं । नयाँ–नयाँ भिजनका साथ अघि बढिरहेको महसुस हुन्छ । जसले गर्दा परिणाम सकारात्मक निकाल्नमा मद्दत पुगिरहेको छ । जनप्रतिनिधि र आम सर्वसाधारणमा विकासप्रतिको सचेतनाका कारण धमाधम काम भइरहेका छन् ।

ग्रामिण विकासको पछिल्लो वस्तुस्थितिलाई नियाल्दा खासगरी सडकमै बढी ध्यान दिएको पाइन्छ । विकासको मूल आधार पनि सडक नै हो । सडक नै व्यवस्थित नभए अरु विकासले सार्थकता नपाउने भएकाले जनप्रतिनिधिका पहिलो प्राथमिता पनि सडकमै गएको हुनुपर्छ । ग्रामिण सडक धमाधम पिच भइरहेका दृष्य अहिले प्राय देखिन्छन् । कतै ग्राबेल हाल्ने काम भइरहेको छ भने कतै सडकका दायाँबायाँ नाला बनाएर अझ व्यवस्थित बनाउने काम भइरहेका छन् । पछिल्लो समय सडकस“गै नाला निर्माण, कृषिका लागि नहर तथा कुलो निर्माण, खानेपानीका लागि डिप बोरिङ तथा पाइप विस्तार, शिक्षाका लागि विद्यालयको स्तरोन्नती, स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रको विस्तारलगायतका काम धमाधम भइरहेका छन् । ग्रामिण परिवेशमा विकासको अनुभूति हुने आधार पनि यिनै हुन् । स्थानीय निकायले यस्ता कामका लागि बजेट विनियोजन गरी धमाधम काम गरेकाले विगतको तुलनामा आममानिसमा विकासप्रतिको धारणामा सकारात्मक छाप पर्न गएको देखिन्छ ।

स्थानीय निकायको निर्वाचनस“गै त्यसबाट छानिएर आएका जनप्रतिनिधिमा जनताको अपेक्षा अहिले बढी छ । अस्थिर सरकार र जनप्रतिनिधिविहीन विगतको अवस्थाका कारण विगतमा विकासले गति लिन सकेको थिएन । बहुमतको सरकार र लामो समयपछि जनप्रतिनिधि छानिएर आएकाले जनतामा विकासप्रतिको अपेक्षा ह्वात्तै बढेको छ । यही तुलनामा अधिकांश जनप्रतिनिधिमा पनि काम गर्ने जोश र जा“गर देखिन्छ । जसको फलस्वरुप अहिले हामीले महसुस हुने गरी काम भइरहेको हो । अहिले जनताको अपेक्षालाई सार्थक तुल्याउनु उनीहरुको मुख्य चुनौती देखिन्छ ।

पछिलो समय मानिसमा विकासप्रतिको सचेतना ह्वात्तै बढेको महसुस हुन्छ । सामान्य वडा सदस्यबाट समेत मानिसले धेरैभन्दा धेरै कामको अपेक्षा राखेका हु“दा रहेछन् । काम नहु“दाको विरोधको सामाना पनि बढीजसो उनीहरूले नै गर्नुपर्दो रहेछ । कतिपय अवस्थामा आफ्नै खर्चले समेत काम गर्नु परिरहेको छ । जनताको अपेक्षालाई जीवित राख्न पनि त्यसो गर्नुपरको हो ।

कतिपय वडा सदस्यको अनुभवलाई विचार गर्दा अहिलेका जनप्रतिनिधिमा काम नगरी सुखै छैन । तल्लो तहको प्रतिनिधिसँग त यति धेरै अपेक्षा छन् भने प्रमुख वा उपप्रमुखसँगबाट नहुने त कुरै भएन । काम गर्न प्रशस्तै अधिकार रहेकाले पनि नगर वा गाउँपालिका प्रमुख र उपप्रमुखस“ग जनताले विकासमा धेरै अपेक्षा गरेका छन् । त्यति मात्र होइन, सुशासन र जनताको पक्षमा ऐन, नियम, कानुन आओस् भन्ने उनीहरुको अपेक्षा हुने गर्छ ।

यति भन्दै गर्दा स्थानीय तह अथवा ग्रामिण परिवेशमा सबै राम्रा मात्रै काम भइरहेका छन् भन्ने छैन । खासगरी अहिले अनियमितताको प्रश्न व्यापक बनेको छ । माथि पनि उल्लेख गरिसके यसबारे हेर्ने निकाय छन् । त निकायले पनि जनताको अपेक्षाअनुसार पक्कै काम गर्नेछन् ।

लामो समयदेखि विकासको अनुभूति गर्न नपाएका जनताले बल्ल केही न केही काम भएको देख्न पाएका छन् । यसलाई निरन्तरतामात्र होइन अझ गतिका साथ लैजान आवश्यक छ ।

तपाईको प्रतिक्रिया