बाल गायिका कमलाले ल्याइन् ‘चिया छानेको’

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १४:२७

समाधान संवाददाता
काठमाडौं

चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक भएकोे छ । बुधबार रिपोर्टस् क्लब नेपालको केन्द्रीय कार्यालयमा उक्त गीत सार्वजनिक गरिएको हो ।

क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल नीलम ढुंगाना, गायिका कमला घिमिरे, कमलाका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतम लगायतले गीत विमोचन गरेका हुन् ।

Advertisement

कार्यक्रममा पत्रकार धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकाले उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘कमलाको गलामा अद्भूत क्षमता छ, उनको सांगीतिक तथा शैक्षिक यात्रालाई तार्किक निष्कर्षमा पुर्‍याउन जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको पनि सुनाए ।

उनले भने, ‘कलमाको गीत सबैले रुचाउनुभएको छ, यसलाई माया गर्नुपर्छ । यो गीतलाई ३ करोड नेपालीसामु पु¥याउन आफूले मिडियामार्फत कुनै कसर बाँकी नराख्ने धमलाले विश्वास दिलाए । कमलालाई अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिक रुपमा सहयोग गरिरहेकी छिन् ।

Advertisement

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिँदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । उनले संगीतबाट नै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटा खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीत २४ घन्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । हामी निकै आभारी छौं । युट्युब च्यालनलमार्फत उत्साहजनक प्रतिक्रिया आउँदा सिंगो टिम खुसी छ,’ उनले भने ।

कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्न चुनौती भएको सुनाउँदै समयमै गीत तयार पारेर बजारमा ल्याएको बताए । उनले भने, ‘यो गीत तयार गर्न मलाई चुनौती थियो । २४ घन्टामा स्क्रिप्ट तयार पार्न गाह्रो हुन्छ । तर मलाई ३ घन्टाभित्रै भिडियो गर्नु थियो, मैले सबै कलाकार समेटेर अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छु ।’

दोहोरी गीतबाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेकोे म्युजिक भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजारमा आएको हो । कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा स्वर दिएका छन् । सापकोटाले नै कमलालाई मिडियामा ल्याएका थिए ।

गीतमा नेपालका चर्चित मोडलले नृत्य गरेका छन् । शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरे । भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन् ।

तपाईको प्रतिक्रिया