—सम्पादकीय— ‘पुतली बाजे’ को मान

समाधान संवाददाता २०७६ मंसिर ९ गते १४:१८

५४ वर्षअघि बेलायतबाट नेपाल आएका कोलिन स्मिथ अझै नेपालमा बसिरहेका छन् । बुढ््यौलीका दिन गुजार्दै गर्दा उनमा एउटै धोको थियो, नेपाली नागरिक भएर मर्ने । यस्तो धोको पालेको २५ वर्षअघिदेखि नै हो । तर उनले नागरिकता पाउन सकेनन् । नेपालमा १५ वर्ष बसेको, नेपालीमा बोल्न र लेखपढ गर्न सक्ने भए विदेशीले पनि नेपाली अंगिकृत नागरिकता पाउन सक्ने व्यवस्था हुँदा पनि उनले पाएनन् ।

ढिलै भए पनि नेपाल सरकारले उनलाई खुसी दिएको छ—मानार्थ नागरिकता उपलब्ध गराउने निर्णय गरेर । कात्तिक २९ गतेको मन्त्रिपरिषदले स्मिथलाई मानार्थ नागरिकता दिने निर्णय गरेको छ । नेपालमा लामो बस्नु, नेपाली भाषा बोल्न र लेख्न जान्नुमात्रै कोलिन स्मिथका विशेषता होइनन् ।

उनले नेपाललाई धेरै ठूलो गुन लगाएका छन् । पुतलीको खोज र अनुसन्धानमा उनको जति योगदान नेपालमा अरु कसैको छैन । अंगिकृत नागरिकता त सामान्य नागरिकता भइगयो । उनले खोजेको पनि त्यस्तै नागरिकता थियो । तर सरकारले १ कमद अघि बढेर मानार्थ नागरिकता दिने निर्णय ग¥यो । यो उनको वास्तवमै मानसम्मान हो ।

Advertisement

यसले उनको मात्रै होइन नेपाललाई गुन लगाउने हितैषीलाई यो देश सम्मान गर्न जान्छ भन्ने संस्कारको परिचय हो । हामी कृतज्ञ संस्कृतिका धनी हौं भन्ने कुराको प्रमाण हो । सबैभन्दा पहिला न्युजिल्यान्डका नागरिक सगरमाथा आरोही एडमन्ड हिलारीलाई नेपाल सरकारले मानार्थ नागरिकता दिएको थियो । नेपाली नागरिक तेन्जिङ शेर्पा र उनको आरोहणकै कारण सगरमाथा अझै विश्वभर चिनिएको थियो, नेपाल चिनिएको थियो । नेपालमा पर्यटन र पर्वतीय पर्यटन विकासमा त्यो आरोहण ठूलो कोसेढुंगा सावित भएको थियो ।

नेपालमा कतिथरी पुतली पाइन्छन् भन्ने ठोस अनुसन्धान कोलिन स्मिथले गरेका हुन् । ६६० प्रजातिमध्ये ९० प्रतिशत जति संकलन गरिवरी संग्रहालय नै पनि बनाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसभित्रको पुतली संग्रहालय उनैको देन हो । थुप्रै वैज्ञानिक अनुसन्धानमूलक आलेख प्रकाशित गरेर नेपाल र नेपालका पुतलीको बारेमा विश्वलाई जानकारी दिने काम उनैको हो । तसर्थ नै कोलिन स्मिथलाई उनको वास्तविक नामभन्दा ज्यादा पुतली बाजेका नामले धेरैले चिन्छन् । त्यो नाम नै उनीप्रतिको सम्मान थियो । जनस्तरबाट त्यस्तो सम्बोधन हुँदै आएकोमा अहिले भने राज्यले नै उनको योगदानमाथि सम्बोधन गरेको छ । देशलाई गुन लगाउनेको सम्मान अनेक विभूषण र पुरस्कारले मात्रै हुँदैन । त्यसभन्दा माथिको सम्मान भनेको नै कोलिनलाई गरिझैं अर्पण गरिने सम्मान हो ।

Advertisement

नागरिकता ऐन, २०६३ ले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर सरकारले स्मिथलाई मानार्थ नागरिकता प्रदान गरेको छ । कोलिन फिलिप स्थिम अहिले पोखराको सराङ्कोटमा बस्दै आएका छन् । भावनात्मक नाता जोडिएको एउटा परिवार उनको सहारा बनेको छ । ८३ वर्षका उनको दैनिकी कष्टकर जस्तै छ । आवश्यक परे औषधोपचार र अरु सहयोग पनि उपलब्ध गराउने सरकारी प्रयास भइदिए उनीमाथि अझै सम्मान हुने थियो ।

तपाईको प्रतिक्रिया