खपौंदीमा हुने भयो प्याराग्लाइडिङ अवतरण

समाधान संवाददाता २०८२ जेठ ८ गते १:५०

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सँगै पामेमा हुदैं आएको प्याराग्लाइडिङ अवतरण बिहीबार देखि पुनः फेवाताल किनार खपौंदीमा हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदीमा बिहीबारबाट अवतरणका लागि अनुमति दिएसँगै मान्द्रेढुंगा वा तोरीपानीबाट टेकअफ लिएका पर्यटकहरु फेवा किनारमा झर्ने भएका हुन् । नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाईडिङ पाइलट क्लबको पहलमा नेपाल नागरिक उड्न प्राधिकरणले उक्त स्थानमा अवतरण अनुमति दिएसंगै प्याराग्लाईडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ । उनीहरुले प्याराग्लाइडिङको उडान समयसमेत बढाइएका छन् । पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र उडान हुने गरेकोमा बिहीबारदेखि बिहान ११ दिउँसो साढे ४ बजेसम्म उडाउने उडाउने नाले जानकारी दिएको छ ।
विमानस्थल सञ्चालन पूर्व सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । प्राधिकरणले सुरक्षाको कारण देखाएपछि सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेर अवतरणस्थल खपौंदीबाट पामेमा बनाइएको थियो ।
जसका कारण प्याराग्लाइडिङ व्यासायमा गिरावट, पर्यटकमा अकर्षण कमी, प्यारापाइलट पलायनसँगै विविध समस्या देखिएको नेपाल हवाई खेलकुद संस्था (ना) का उपाध्यक्ष खेमराज आचार्यले बताए । लेकसाइडमा व्यावसाय गर्दै आएका ६३ कम्पनीमध्ये १० वटा विस्थापित भइसकेको उनले जानकारी दिए ।
पहिले दैनिक १ हजार पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा उडान र अवतरणस्थल सरेपछि १ सयजनामा सीमित हुन पुगेको उनले सुनाए । ४ सयको संख्यामा रहेका प्यारा पाइलट घटेर २ सय ५० मा झरेका तितो यथार्थ उनले प्रस्तुत गरे । प्राधिकरणको अनुमतिसँगै पुरानै ठाउँमा अवतरण हुँदा पोखराको प्याराग्लाइडिङ पुरानै लयमा फर्किनेमा उनी विश्वस्त छन् ।
प्याराग्लाईडिङलाई पुरानै लयमा फर्काउन नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले उडान अभिमुखिकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाईडिङको भूमिका विषयक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा भ्रमण बर्षको सन्र्दभमा पोखराको प्याराग्लाईडिङ पहिलाकै ठाँउबाट अवतरण हुँदा पर्यटकहरुलाई थप आकर्षित गर्ने दाबी गरे ।
उनले आगामी दिनमा सुरक्षित ढंगबाट प्याराग्लाईडिङ उडानका लागि आग्रह गरे । उनले सन् २०२५ भित्रै प्याराग्लाईडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने प्रतिवद्धता जनाए । शुल्कमा अस्वस्थ प्रतिस्पर्धा उनको आग्रह थियो । पोखराको प्याराग्लाईडिङ क्षेत्रको विकास र विस्तारका लागि सहकार्य गर्दै जाने उनले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुंवरले पोखराको दिगो पर्यटनको लागि प्राधिकरणसंगको सहकार्यमा पुरानै स्थानबाट प्याराग्लाईडिङ अवतरण गर्ने अनुमति दिइएको बताए । यसमा नाले बिषेश सुरक्षामा ख्याल गर्दै हरेक कम्पनी र पाइलटहरु यसमा गम्भिर भएर पर्यटकहरुलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दै प्याराग्लाईडिङ गर्न उनले आग्रह गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरामा सोलो प्याराग्लाईडिङ खुल्ला गर्न माग गर्दै उक्त अभियानका लागि परिषद सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा पोखरा भ्रमण बर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासुदेव त्रिपाठी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, पोखरा १८ का वडा अध्यक्ष शिवराज तिमिल्सिना, पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पोखराको प्याराग्लाईडिङ व्यावसायलाई पुरानै लयमा फर्काउनृ गरी मेहनत गर्न आग्रह गरे ।
बुधबार पोखरामा प्याराग्लाईडिङ पाइलटहरुको लागि प्राविधिक ज्ञान सहितको तालिम समेत प्रदान गरिएको नाका महासचिव बलराम आचार्यले बताए । तालिममा नाका प्राविधिक उपाध्यक्ष बिजय गौतमले एयरस्पेस सिमानाको बिषय, राष्ट्रिय खेलाडी एवं प्रशिक्षक बिमल अधिकारी सुरक्षाको बिषय र प्रमुख प्रशिक्षक योगेश बहादुर भट्टराईले अनुशासन सम्बन्धमा सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया