प्रदेश सभाको शून्य समय
मनसुनजन्य विपद् न्यूनीकरणमा सांसदहरूको सरकारलाई ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सुरु भएको छ। अधिवेशनको पहिलो दिन शून्य समयमा बोल्दै प्रदेशसभा सांसदहरूले वर्षायाम सुरु भइसकेकाले मनसुनजन्य विपद् न्यूनीकरण, व्यवस्थापन, उद्धार र राहतको तयारीमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।
सांसद डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा ३० वर्षयताकै भीषण वर्षा हुने पूर्वानुमान गरेको जानकारी दिँदै अहिलेको व्यवस्थापन पर्याप्त नहुने बताए। उनले प्रदेश सरकारका सबै संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
सांसद टीकाकुमारी बस्यालले मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि आपतकालीन कोषको व्यवस्था, साथै उद्धारका लागि तालिम प्राप्त टोली तयारी अवस्थामा राख्नुपर्ने माग गरिन्।
सांसद विकल शेरचनले सरदरभन्दा ४५ प्रतिशत बढी वर्षा र तापक्रम वृद्धि हुने सम्भावना रहेको उल्लेख गर्दै हिमतालहरूबाट उत्पन्न हुने सम्भावित जोखिमको मूल्यांकन गर्नुपर्ने बताए। उनले मन्त्रीहरूको कार्यक्षमता र कार्यसम्पादनप्रति समेत प्रश्न उठाए।
सांसद पंचराम गुरुङले आँधिखोला–५ जुग्लेबजारका १० घरपहिले नै जोखिममा परेको भन्दै तिनको संरक्षणको माग गरे। सांसद सुशीला सिंखडाले चुमनुब्री–३ सिर्दीबासको बस्ती तत्काल सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरिन्।
म्याग्दीका सांसद हरिबहादुर भण्डारीले यो वर्ष बढी वर्षा हुने सम्भावना रहेको जनाउँदै म्याग्दी सबैभन्दा बढी जोखिममा परेको बताए। उनले विपद् व्यवस्थापन, राहत र उद्धारका विषयमा प्रदेश सरकारको तयारीबारे जवाफ मागे।
पर्वतका सांसद भक्तबहादुर कुँवरले आफ्नो निर्वाचन क्षेत्रका बहुवर्षे योजना बजेटको अभाव वा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले निर्माणाधीन सडकहरू— दोबिल्ला, सिल्मी, ठूलीपोखरी, खौला, कार्कीनेटा, मिलनचोक, धारापानी, धाइरिङ, रातामाटा, भोटेडाँडा, सालिजा, गंगटे–आर्थर सडक—बारे जानकारी गराउँदै ती योजनाहरूमा तुरुन्त पहल गर्न माग गरे।
सांसद भीमबहादुर कार्कीले ठेक्का पाएका योजनाका ठेकेदारहरू सम्पर्कविहीन भएकाले योजना अलपत्र परेको जनाउँदै उनीहरूलाई जिम्मेवार बनाउन आग्रह गरे। भोजराज अर्यालले चार पटकसम्म संसदमा आवाज उठाउँदा पनि सरकारको बेवास्ताले आफू निराश भएको बताए। गत वर्ष हजारौँ रोपनी जग्गा, घर, सिँचाइ र खानेपानीका योजनामा भएको अरबौँको क्षति अझै सम्बोधन नभएको उनले दोहोर्याए ।
सांसद प्रकाश बरालले फेवाफाँटका किसान गवारो नियन्त्रण नहुँदा आश र त्रासबीचमा रहेको बताए। धानखेतीमा एक करोड २८ लाख रुपैयाँको क्षति भोगेका किसान अझै राहतको पर्खाइमा रहेको उल्लेख गर्दै उनले आगामी खेतीबालीको अनिश्चितता बारे चिन्ता व्यक्त गरे।
अर्का सांसद महेश भट्टराईले रासायनिक मल अभावको विषय उठाउँदै सरकारलाई तत्काल मलको आपूर्ति सुनिश्चित गर्न आग्रह गरे। सांसद सीताकुमारी सुन्दासले वर्षायाममा मजदुर तथा किसानहरूलाई लक्षित गरेर विशेष सहयोग कार्यक्रम ल्याउन माग गरिन्। तनहुँका सांसद श्यामराजा महतले योजना सम्पन्न भइसके पनि प्रयोगमा नआएको उल्लेख गर्दै त्यसको उपयोग सुनिश्चित गर्न माग गरे।
सांसद दमयन्ती रुचालले २०७७ सालमा रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ युवाको हत्यामा उच्च अदालत सुर्खेतले जातीय विभेद नभएको निर्णय दिएकोमा आपत्ति जनाउँदै उक्त फैसला मानवविरोधी भएको टिप्पणी गरिन्। उनले अदालतको निर्णयले पीडितलाई थप पीडा दिएको भन्दै पुनरावलोकनको माग गरिन्।
सांसद नन्दकला दमै नेपालीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकले विद्यार्थी अमन परियारमाथि गरेको जातीय विभेदपूर्ण व्यवहारप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरिन्।

सांसद देवका पहारी त्रिपाठीले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता, सीप विकास र वित्तीय पहुँचका लागि पृथक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। सांसद अशोक श्रेष्ठले निजी गाडीमा प्रदेश सभा सचिवालय प्रवेश गर्दा सुरक्षाकर्मीले असहज व्यवहार गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया