कवि अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण

काठमाडौं ।
कवि देवीरमण तिवारी ‘अल्पज्ञानी’ को नयाँ कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ को काठमाडौँमा लोकार्पण गरिएको छ। शुक्रबार बागबजारस्थित काठमाडौँ मोडेल कलेजको सभाहलमा आयोजित एक समारोहबिच पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि, मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले कृतिको लोकार्पण गर्दै ‘उज्यालो पर्खिरहेको मानिस’ मा पूर्वीय दर्शन र समाजको गहिरो छाप भेटिने बताए। उनले भने, ‘अल्पज्ञानीका कवितामा रहस्य र प्रश्न छन्। उनले कवितामा प्रश्नहरू छाडेर उत्तर खोज्ने जिम्मा पाठकलाई दिएका छन्। वास्तवमा यो उज्यालोको पर्खाइ व्यक्ति मात्र नभई सिङ्गो सृष्टिकै पर्खाइ हो।’

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. अशोक थापाले अल्पज्ञानीका कविताले जीवनको उज्यालो आशा देखाउँदै वर्तमानका विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेको बताए। उनका अनुसार, कवितामा उज्यालोलाई सकारात्मकता र अँध्यारोलाई नकारात्मकताबीचको द्वन्द्वका रूपमा प्रस्तुत गरिएको छ।
त्यसैगरी, अर्की समीक्षक उपप्राध्यापक डा. गीता त्रिपाठीले अल्पज्ञानीका कवितामा प्रकृति र समाजको सुन्दर अन्तर्घुलन रहेको बताइन्। उनले भनिन्, ‘कविता लेख्नु कष्टप्रद छ। यी कविताले पर्यावरणीय सन्तुलनको पक्षलाई सशक्त रूपमा उठाएका छन् र अनेकौं विपर्यासका बिचमा जीवनको सन्तुलन खोजेका छन्।’
कास्कीको बेगनासमा जन्मिएका कवि अल्पज्ञानी साठीको दशकको उत्तरार्धबाट नेपाली काव्य यात्रामा सक्रिय छन्। आफ्नो लेखनबारे उनले भने, ‘अरूलाई नदुखाउनु भन्ने सोचले नै मलाई आफैँ दुखेर कविता लेख्न लगायो।’
कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देलले अध्यक्षता गरेका थिए भने सञ्चालन साहित्यकार डि.डी. अधिकारीले गरेका थिए। लोकार्पित कृतिबाट कविहरू डा. वसन्त गौतम, सञ्जीव पौडेल, अमृत क्षेत्री र लक्ष्मीदेवी गौडेलले एक-एक कविता वाचन गरेर सुनाएका थिए। स्रष्टा अल्पज्ञानीको परिचय डा. राजेन्द्र चापागाईँ ‘आहात’ले दिएका थिए भने काठमाडौँ मोडेल माध्यमिक विद्यालयका प्राचार्य डा. नगेन्द्र अर्यालले शुभकामना मन्तव्य राखेका थिए।
पेज टर्नरले प्रकाशन गरेको यस सङ्ग्रहमा ६ भागमा विभाजित ४७ वटा कविताहरू सङ्ग्रहित छन्। यसअघि पोखरामा एकल शास्त्रीय छन्द कविता वाचन गरिसकेका कविको यो कृति मुक्त लयमा लेखिएको पहिलो सङ्ग्रह हो।








भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया