पोखरामाथि चितवनको सहज जित

समाधान संवाददाता
पोखरा
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि– २० क्रिकेटमा सोमबारको खेलमा चितवन राइनोजले जित हात पारेको छ । पोखरा विरुद्ध ६ विकेटको सहज जित निकाल्दै प्रतियोगिताको पहिलो खेलमा चितवनले विजयी सुरुवात गरेको हो ।
टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको चितवन पोखरालाई १ सय ७ रनमा रोक्न सफल भयो । सामान्य लक्ष्य पछ्याएको चितवनले ४ विकेट क्षतिमा १४ ओभर ५ बलमै भेट्टायो ।
बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवनको सहज जित साकार भयो । उनले चितवनलाई अविजित ६६ रनको योगदान गरे । बाबरले ४२ बलमा ६ चौका र ४ छक्का हिर्काए । प्लेयर अफ दि म्याच बाबरले प्राप्त गरे । ओपनर ब्याट्सम्यान अनिल साह क्रिजमा टिक्न सकेनन् । उनी २ बलको सामना गर्दा शून्य रनमै आउट भए । रोहन मुस्तफाले चितवनका लागि थप ११ रन जोडे ।
खेलमा कप्तान पारस खड्का ४ र आरिफ शेख १ रन बनाएर आउट भए । उनीहरु दुवैलाई सर्वजीत लड्डाले आउट गराए । चितवनका लागि सन्नी पटेलले अविजित २२ रनको योगदान गरे । उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे । पटेलले बाबरसँग पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । बलिङतर्फ पोखराका रासिद खान र सर्वजित लड्डाले समान २ विकेट हात पारे ।
शरद भेषावाकरको कप्तानी रहेको साविक विजेता पोखरा पल्टनले उद्घाटन खेलमा जस्तो प्रदर्शन गर्न सकेन । प्रतियोगिताको पहिलो खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्समाथि ९ विकेटको विशाल जित हात पारेको थियो । सोमबारको खेलमा भने कप्तान भेषावकरले ३९ बलमा ४५ रनमात्रै बनाए । कुशल भुर्तेल ५, कुशल मल्ल १३, आसिफ शेख, रवि इन्दर सिंह र रशिद खानले समान १० रन बनाए ।
चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट दिलाए । विक्रम शोब, करन केसी र कप्तान पारस खड्काले पनि समान १ विकेट लिए ।
बुधबार २ खेल हुने भएका छन् । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजको सामना गर्ने छ । दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दै छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया