छोमरोङमा सेन्चुरी ल्होसार मेला

समाधान संवाददाता २०७६ पुष ३ गते १३:२५

समाधान संवाददाता
पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोमरोङमा १८ औं सेन्चुरी ल्होसार मेला २०७६ हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दैसेन्चुरी युवा क्लबले ल्होसार मेलाका बारेमा जानकारी गराएको हो ।

शनिबारदेखि सुरु हुने मेला ९ गतेसम्म चल्नेछ । मेलामा वडा स्तरीय पुरुष, महिला र भेट्रान्स भलिबल प्रतियोगिता, पुरुष, महिला बास्केटबल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम हुने क्लबका अध्यक्ष मिकाश गुरुङले बताए । मेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् भने समापन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने तय भएको छ ।

Advertisement

प्रतियोगितामा वडा स्तरीय भलिबलमा पुरुषतर्फ प्रथम, द्वितीय हुनेलाई क्रमश ८० र ५० हजार प्रदान गरिनेछ । महिलातर्फ प्रथमलाई ५० र द्वितीयलाई ३० हजार, प्रौढ (भेट्रान्स)तर्फ प्रथम, द्वितीयलाई क्रमश २० र १० हजार पुरस्कार दिइनेछ । बास्केटबलमा प्रथम र द्वितीयले क्रमश ८० र ५० हजार पाउने छन् । सामूहिक नृत्यमा प्रथम, द्वितीय र तृतीयले क्रमश ५०, ३५ र २० हजार पाउनेछन् । उत्कृष्ट भेषभूषा र नृत्य निर्देशकले जनही ५ हजार पाउनेछन् ।

कार्यक्रममा छेलो प्रतियोगितासमेत राखिएको छ । छेलोमा प्रथम हुनेले ५ हजार पाउनेछन् भने द्वितीयलाई ३ हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी गराए । अन्नपूर्ण गाउँपालिकाको लोपन्मुख संस्कृति बचाउ र नेपाल सरकारको भिजिट नेपाल २०२० लाई सफल पार्न मेला आयोजना गरिएको उनले बताए । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी मेलाको आयोजना गरेका हौं ।’

Advertisement

अन्नपूर्ण गाँउपालिका अन्तर्गत पर्ने छोमरोङ पर्यटकीय गाउँ हो । पोखरा हरिचोकबाट कास्कीको मट्क्योसम्म गाडी नै लाग्छ । त्यहाँबाट लगभग ३ घण्टाको पैदल मार्ग हुँदै छोमरोङ पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया