—सम्पादकीय— विद्यार्थीको सिकाइ सुधार्ने हो भने

समाधान संवाददाता २०७६ पुष १० गते १४:२७

खुसी हुन धेरै ठूलो कारण चाहिँदैन । हालै एउटा शैक्षिक नतिजाले हामीलाई औधि खुसी दिएको छ । सन् २०१४ देखि गण्डकीका केहीसहित देशका १६ जिल्लामा लागु राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मूल्यांकन २०१८ को नतिजाअनुसार विद्यार्थीले शुद्ध लेख्न सक्ने क्षमता वृद्धि गरेका छन् । १ विद्यार्थीले १ मिनेटमा ४५ शब्द पढ्ने र पढेका शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नुपर्ने मान्यता छ । अभियान सुरु हुनुअघि विद्यार्थीको अर्थबोध र शुद्ध लेख्न सक्ने क्षमता शून्य दशमलव ९ प्रतिशत रहेकोमा हाल ३ दशमलव १४ प्रतिशत पुगेको छ । शुद्ध पढ्न सक्ने संख्या आधार वर्षमा ५२ प्रतिशत रहेकोमा मध्यावधिमा ६६ प्रतिशत पुगेको, कम्तीमा १ शब्द शुद्ध पढ्न सक्ने विद्यार्थी ३० प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको छ ।

Advertisement

कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने बालबालिकाको पठन सीप अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु भएको कार्यक्रमले शुद्धसँग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्या वृद्धि ग¥यो भन्दा अचम्मसँगै खुसी हुनुपर्ने अवस्था किन भयो ? किन कि हाम्रा विद्यालयहरुमा विद्यार्थीलाई अर्थबोध गराउने र सही तरिकाले सिकाउने पद्धतिबारे हामी बल्ल सूचित हुँदैछौं । घोकेन्ते विद्या, धावन्ते खेती भन्ने परम्पराबाट हाम्रो शिक्षा प्रणाली ग्रसित हुनु अहिलेसम्मको दुर्भाग्य हो । माध्यमिक विद्यालय उत्तीर्ण गरेको विद्यार्थीले विद्यालयको द्या आधा द र बुढो य मिलेर बनेको हो भन्ने कहिल्यै जानेन । धेरै विद्यार्थीले आफ्नै नाम र थर शुद्ध लेख्दैनन् । आफ्नै गाउँ र ठाउँको नाम शुद्ध लेख्दैनन् । आफूले पढेको विद्यालयको नाम शुद्ध लेख्दैनन् । परिवारका सदस्यहरुको नाम शुद्ध लेख्दैनन् ।

हालतः यस्तो हुनुको कारण अरु केही नभएर नेपाली भाषालाई महत्व नदिनु हो । अंग्रेजी जस्ता भाषाको चापमा नेपालीलाई हेलिनु हो । अंग्रेजीलाई जबरजस्तै घोकाउनु । गणितका सूत्रलाई फलामका चिउरा बनाउनु आदि कारण विद्यार्थीमा अर्थबोध नहुनुका कारण हुन् । अझ हाम्रा विद्यालयहरु विद्यालयजस्ता नभई कारागार जस्ता छन् । जहाँ विद्यार्थी कहिल्यै आकर्षित हुँदैनन् । शिक्षकहरु विद्यार्थीलाई आफू पुलिस र विद्यार्थी अपराधी भएको जस्तो व्यवहार गर्छन् । त्यस्तो वातावरणमा विद्यार्थीले कसरी सिक्न सक्छ ? कसरी शुद्ध लेख्न सक्छ ? कसरी अर्थ बोध गर्न सक्छ ? तसर्थ सबैभन्दा पहिला शिक्षाका नीति निर्मातालाई शिक्षाको अर्थ बोध हुन जरुरी छ । शिक्षकहरुलाई शिक्षक हुनुको अर्थबोध हुन जरुरी छ । तबमात्रै विद्यार्थीलाई शब्दहरुको अर्थबोध हुनेछ । अनि साँच्चै उनीहरु शब्दहरु शुद्ध लेख्न सक्नेमात्रै होइन, देशकै सुन्दर भविष्य लेख्न सक्ने हुनेछन् ।

तपाईको प्रतिक्रिया