अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ गृह विमोचन

पोखरा । कवि अल्पज्ञानीको कवितासंग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ शनिबार पोखरामा गृह विमोचन गरिएको छ । पुछारसिटे अभियानको संयोजनमा भएको कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तले पुस्तक विमोचन गरे । साहित्यकार सरुभक्तले काव्य सिर्जनाका लागि निरन्तरको साधना आवश्यक रहेको बताए । उनले भने, ‘कति धेरै कृति प्रकाशन भए भन्नुभन्दा पनि कति गुणस्तरीय प्रकाशन भए भन्ने विषय प्रधान हो ।’ कवि अल्पज्ञानीले गुणबत्ता कविता संग्रह ल्याएको भन्दै उनले प्रशंसा गरे ।
कार्यक्रममा कवि तथा कलाकार रमेश श्रेष्ठले सरल भाषा र बुझिने शैलीमा अल्पज्ञानीले चोटिला कविता सिर्जना गरेको बताए । साहित्यकार सरस्वती प्रतीक्षाले अल्पज्ञानीले कविता संग्रह अहिले प्रकाशनमा ल्याए पनि २ दसकअघि नै उनका चोटिला कविताको रसश्वादन लिन पाएको स्मरण गरिन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रीता अधिकारी ‘रितु’ ले धेरै पहिलादेखिका कविता संकलन गरी अब्बल कोटीको संग्रह प्रकाशन गरेकामा बधाई दिइन् ।
उक्त अवसरमा डा. भूमिराज बस्ताकोटी र राजिन पनेरुले अल्पज्ञानीको संग्रहमाथि विश्लेषणात्मक टिप्पणी गरेका थिए । डा. बस्ताकोटीले फाट्टफुट्ट कमजोरीबाहेक अब्बल दर्जाका कविताको संग्रह ल्याएर नेपाली साहित्यमा इटा थपेको बताए । डा. बस्ताकोटी र पनेरुले अल्पज्ञानीको कवितामा ग्रामीण जीवन, आफूले अनुभूत गरेको समय र समाजप्रतिको प्रष्ट दृष्टिकोण झल्केको भनाइ राखे ।
कार्यक्रममा ईश्वमणि अधिकारी र मदन घिमिरेले कविता वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका अभियानका सल्लाहकार दीपक समीपले साढे २ दसकदेखिको लगावको परिणाम अल्पज्ञानले मन छुने कविता संग्रह ल्याएको भन्दै प्रशंसा गरे ।
कवि अल्पज्ञानीले आमा बसुन्धरी तिवारीलाई आडैमा राखेर आफ्नो रचनात्मक यात्रा र कविता जन्माउँदाका प्रसव व्यथा सुनाए । बाँच्ने क्रममा सहर पसे पनि मनमा ग्रामीण परिवेशको झल्कोेले नछाडेका कारण त्यसै अनुसारका सिर्जना गरेको उनको भनाइ थियो । संरक्षण कविता आन्दोलन, संरक्षण कविता यात्रा, अक्षर यात्रा, समता काव्य सन्ध्यामा निरन्तरतको सहभागिता, अग्रजहरुको प्रेरणाका कारण आफूमा उत्साह थपिएको अल्पज्ञानीले सुनाए । पोखराको वेगनासमा जन्मेका उनी हाल काठमाडौं बस्छन् ।
पुछारसिटे अभियानका अभियन्ता सञ्जीव पौडेलले जीवन जिउनका लागि मानिस जहाँ पुगे पनि जन्मभूमि र माटोप्रतिको अगाध स्नेह नछुट्ने बताए । यसको उदाहरण अल्पज्ञानी नै रहेको उनको भनाइ थियो ।
पेज टर्नरले प्रकाशन गरेको कृतिको बजार मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया