प्रशासन र टुरिजम काउन्सिल माफी माग, निर्णय फिर्ता लेउ

समाधान संवाददाता २०७६ पुष ११ गते १३:०४

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछ । विदेशी पर्यटकलाई नेपालमा बोलाएर बढीभन्दा बढी दिन राख्ने र खर्च गराउने अनि त्यसैबाट समृद्धिको खाका कोर्ने सोचले यो अभियान ल्याइएको हो । हुन पनि प्राकृतिक रुपमा सुन्दर नेपालमा पर्यटकलाई आकर्षित गर्ने ठाउँको लामो सूची छ । सरकारले नै उत्कृष्ठ पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसै अनुसारका पूर्वाधार निर्माणमा समेत जोड दिएको छ । पर्यटक तान्न यति धेरै मेहनत भइरहेका बेला पोखरामा भने भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाइएको छ । पर्यटन सम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषदको काममा जिल्ला प्रशासन कार्यालय कास्की यसको मतियार बनेको छ । सबैतिर पर्यटन वर्षको लहर चलेको र पोखरा भारतीय पर्यटकको असाध्यै आवतजावत गर्ने थलो भएकाले यो अविवेकी निर्णयले यहाँको पर्यटन व्यवसायलाई ठूलै खाल्डोमा धकेलेको छ । जसको विरोध पोखराकै पर्यटन व्यवसायीले पनि गरेका छन् ।

पर्यटनको हाइ सिजन मात्र नभएर लो सिजनमा भारतीय पर्यटकको ठूलै लर्को लाग्छ पोखरामा । सुनौली नाकाबाट भैरहवा, स्याङ्जा हुँदै दिनहुँ दर्जनौ गाडी पर्यटक बोकेर पोखरा आउँछन् । भारतीय सहरको गर्मी छल्न पनि निजी गाडी लिएर मनग्गे पर्यटक पोखरा आउने गर्छन् । विगतको तुलनामा भारतीय पर्यटकको बसाइ मात्र लम्बिएको छैन, उनीहरुले गर्ने खर्चको दर पनि ह्वात्तै बढेको छ । यस्तो अवस्थामा प्रशासनको समर्थनमा परिषदले गरेको निर्णय आफैमा आत्मघाती छ । दैनिक रुपमा पर्यटक र सर्वसाधारणलाई ठग्दै आएका ट्याक्सी व्यवसायी र बर्सेनी घाटा मात्र देखाएर कर छल्दै आएका व्यवसायीको सिमित स्वार्थमा गरिएको निर्णयले तत्कालका लागि मात्र होइन, भविष्यमा समेत ठूलो नकारात्मक असर पार्नेछ । सबैतिरबाट सिन्डिकेट तोड्ने भनेर लागिरहेका बेला पर्यटन यातायात व्यवसायी संघले परिषदलाई प्रभावमा पारेर यो निर्णय गराएको पाइएको छ । कुनै बेला मुस्ताङको यातायात क्षेत्रमा सिन्डिकेट भयो भनेर विरोध गर्ने यिनै व्यवसायी हुन् । अहिले मुस्ताङमा सहज आवतजावत हुँदा पोखरामै यस्तो निर्णय गरिनु मुर्खताको पराकास्टा हो ।

सीमा नाकाबाट रुट परमिट लिएर नेपाल छिरेका भारतीय नम्बर प्लेटका कुनै गाडीलाई कहीं कतै रोक्न पाइँदैन, जुन काम पोखरामा भएको छ । गण्डकी प्रदेश सरकारले बर्सेनी २०÷२० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । त्यति मात्र होइन, समृद्धिको पहिलो आधार नै पर्यटन भनेको छ । तर स्थानीय प्रशासन भने पार्किङको समस्या भन्दै भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाउँछ । निम्तो गरेर र आफैं आएका पाहुनालाई तिमीहरुले आफ्नो गाडी प्रयोग गर्न पाउँदैनौं हाम्रै गाडी चढ्नुपर्छ भनेर जबरजस्ती गर्न मिल्छ ? यति सानो कुरा पनि परिषद र प्रशासनले किन नबुझेको ? पोखरामा यति धेरै खुला ठाउँ हुँदै पार्किङमा समस्या आइसकेको हो भने त गाडीको दर्ता नै रोक्नु प¥यो नि । अनि कास्कीका सिडिओे पोखराका सबै पर्यटकीय क्षेत्रमा पुगेर पार्किङ क्षेत्रको अनुगमन गरेर यो निर्णय गरेको भए त ठिकै थियो । सीमित व्यक्ति र संस्थाको निहीत स्वार्थ पूरा गर्न यस्तो निर्णयमा पुग्नुअघि १ पटक होइन, धेरैपटक सोच्नुपर्ने थियो । अब जे भयो भयो, यसमा निर्णयकर्ताले माफी मागेर निर्णय फिर्ता गर्नुनै उत्तम विकल्प हो ।

Advertisement

तपाईको प्रतिक्रिया