सम्पादकीय—दलहरु चुनाव केन्द्रित बन

जेनजी आन्दोलनपछि देश नयाँ राजनीतिक परिवेशमा पुगेको छ । एक हप्ताभित्र मुलुकमा धेरैले कल्पना नै नगरेको राजनीतिक उथलपुथल देखियो । भदौ २३ गते जेनजी पुस्ताका नवयुवामाथि क्रूर दमनमा राज्य उत्रिएपछि स्थिति हिंसात्मक बन्न पुग्यो । जसको कल्पना कसैले गरेका थिएनन् । आन्दोलनकारी पक्षबाट पनि कमी, कमजोरी भए देखिए, घूसपैठियाहरुले स्थितिलाई उत्तेजक बनाए । तर राज्यका सुरक्षा अंगले नागरिकलाई छातीमा सुरक्षा दिन उचित रणनीति अपनाउन सकेको देखिएन ।
टाउकोमा ताकी–ताकी गोली हान्ने अत्यन्तै बर्बर शैलीको दमन गर्दा अहिलेको परिस्थिति आएको हो । युवाले उठाएको सामान्य खालका मागलाई समयमै सम्बोधन नगर्ने हठी शासकहरु यति बेला पश्चाताप गर्दै छन् ।समयमै बुद्धि पुर्याएको भए यो परिस्थिति आउने थिएन । थुप्रै प्रतिकूलताका वावजुद पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा सरकार बनेको छ । आगामी फागुन २१ गते चुनाव घोषणा भएकाले अब राजनीतिक दलहरु निर्वाचनमा लाग्नुको विकल्प छैन ।
प्रतिनिधिसभा विघटन भएकोमा कांग्रेस, एमाले र माओवादीले आपत्ति जनाउनु स्वाभाविक छ । किनभने यसबाट उनीहरुको तलब, भत्ता बन्द भएको छ, पदहरु गएका छन् । संघीयतापछि पनि उनीहरुले प्रतिनिधिसभालाई तमासा देखाउने थलो बनाएका थिए । पटक पटक सरकार फेरिए पनि पात्रहरु भने तीन जनामै केन्द्रित भयो । गणतन्त्रको प्रतीक र संविधानको संरक्षक राष्ट्रपति संस्था रहँदासम्म प्रतिनिधिसभा आवश्यक परे ब्यूँतन सक्छ । प्रतिनिधिसभा ब्यूताएर ऐतिहासिक निर्णयहरु गरिएको पनि इतिहास छ । राज्यका अंगहरु कब्जा गरेर भ्रष्टाचार र कुशासन चलाउने र निहत्था युवालाई मारेर शासनको अभ्यास गर्नेहरु इतिहासमा कलंकित भइसकेका छन् । अब दलहरु जनतामा जानुपर्छ, पार्टीलाई पुनर्गठन गर्दै जनताको अपेक्षाअनुरुप चलाउनुपर्छ ।
विद्रोह वा आन्दोलनले सफलता प्राप्त गरेपछि राजनीतिक रुपमा त्यसको व्यवस्थापन गर्नैपर्ने हुन्छ । अहिले पनि बीचको बाटोबाट समाधान खोजिएको बुझ्न सकिन्छ । हाम्रा शासकले ठीक ढंगले राज्य सञ्चालन गर्न नसक्दा पटक–पटक आन्दोलन वा विद्रोहको परिस्थिति बनेको छ । जेनजी युवाले अहिले उठाएका मुद्दाहरु सही हुँदा नै उनीहरु अहिले राज्य सत्तामा स्थापित हुने प्रक्रियामा छन् । राम्रो काम गर्न नसके र आपसी एकता बलियो बनाउन नसके भोलि उनीहरु असफल पनि हुन सक्लान् ।
दुई दलीय अभ्यास गर्छौै भन्ने अराजनीतिक भाषणहरु अब असान्दर्भिक भएका छन् । प्रमुख राजनीतिक दलहरुले एउटा धक्का खाएका छन् । आत्मसमीक्षा गर्न सकेनन् र पार्टी पुनर्निर्माण गर्न सकेनन् भने आगामी चुनावमा उनीहरुको अस्तित्व नै खतरामा पर्न सक्छ । भर्खरै भएको विद्रोहमा युवाको त्यागको सम्मान गर्दै राजनीतिक दलहरु चुनावको तयारीमा लाग्नु श्रेयस्कर हुन्छ । फेरि यो सरकार विघटन गर्ने र आफूहरु सत्तामा पुग्ने दिवास्वप्न उनीहरुले त्याग्नैपर्छ ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया