गण्डकी प्रदेश सभाको बैठक भोलि,आज कार्यव्यवस्था बस्ने

समाधान संवाददाता २०८२ असोज २१ गते ९:३२

पोखरा । जेन–जी आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित गण्डकी प्रदेशसभाको बैठक असोज २२ भोलि बस्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनस्थित हलमा भोलि दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकका कार्यसूची तय गर्नका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदेशसभा र सचिवालयका भवनमा आगजनी भएर पूर्णरूपमा नष्ट भएपछि बैठक स्थगित गरिएको थियो । त्यसयता प्रदेश सरकारका अन्य कार्यालयहरूले सरसफाइ र मर्मत गरेर काम सुरु गरे पनि प्रदेशसभाका भवन भने प्रयोगयोग्य अवस्थामा छैनन् ।

Advertisement

प्रदेशसभा सचिव गोविन्द पौडेलका अनुसार वैकल्पिक स्थलका रूपमा मालेपाटनस्थित हलमा बैठक गर्न तयारी अन्तिम चरणमा पुगेको छ । “बैठकस्थलको आन्तरिक व्यवस्थापन करिब सकिएको छ, बाँकी तयारी बैठक अघि पूरा हुनेछ,” पौडेलले भने । सुरक्षा व्यवस्था, प्रत्यक्ष प्रशारण लगायत सबै प्रवन्ध गरिएको उनले बताए ।

भदौ २५ गतेका लागि तय गरिएको बैठक जेन–जी आन्दोलनपछि स्थगित गरिएको थियो । आगामी बैठकमा खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक छलफलको एजेन्डामा छन् । यससँगै सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Advertisement

यसअघि गण्डकी प्रदेशसभाले भदौ १६ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको थियो भने भदौ ३ गते ‘गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन नियमन तथा व्यवस्थापन विधेयक’ पारित भएको थियो ।

तपाईको प्रतिक्रिया