देखिन छाडे पानी घट्ट

सुन्दरकुमार थकाली २०८२ कार्तिक १२ गते ११:०९

जोमसोम ।
कुनै बेला मुस्ताङका ९६ वटै गाउँमा उवा, जौ, फापर, गहुँ, मकै, फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ थिए । हिउँ पग्लेर बग्ने यहाँका खोला, नदीबाट यहाँका अधिकाँश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल्थे ।


त्यस समयमा अहिलेको जस्तो बिजुलीको सुविधा नहुँदा उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट थियो । अचेल जमाना पूरै फेरिएको छ । प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदिंयौदेखि मुस्ताङमा प्रचलनमा रहेका परम्परागत पानी घट्ट विस्तारै लोपोन्मुख हुने अवस्थामा छन् ।


रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिको रुपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’ अचेल प्रविधिको विकाससँगै हराउँदै गएका हुन् । घरपझोङ ५ ठिनीमा एक सामूहिक पानी घट्ट सञ्चालनमा छ । यो पानी घट्ट गाउँलेले वार्षिक तीन हजार शुल्क लिने गरी ढुम्बाकी स्थानीय हिमा गुरुङलाई जिम्मा दिएका छन् ।

Advertisement

घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जौ, गहुँ र मकै पिस्ने गरिन्छ


ठिनी गाउँबाट वार्षिक ३ हजार बुझाउने गरी २ वर्षदेखि पानी घट्ट आफूले सञ्चालन गर्दै आएको हिमा बताउँछिन् । पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरिएको छ । धेरैजसोले छिटो, छरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन् । ‘घट्टमा घण्टौं लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ,’ गुरुङ भन्छिन्, ‘पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरु पीठो पिस्न यहाँ आउँनुहुन्छ ।’

Advertisement


पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेका छन् । घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जौ, गहुँ र मकै पिस्ने गरिएको छ । यहाँका पानी घट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको छ । ‘खेतीपातीमा सिंचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्न बाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाइन्छ,’ उनले भनिन् ।


पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमनदीहरु सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको छ । ठिनी पानी घट्टमा फापर पिस्न आएकी घरपझोङ ४ जोमसोमकी प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन् ।


पछिल्लो समय विद्युतीय मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिने र धैर समयसम्म राख्न सकिने भएकाले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरिन् ।


जोमसोममा रहेका २ पानी घट्टमध्ये एउटा पूरै बन्द छ भने अर्को पानी घट्ट चलाउन सिंचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको छ । घरपझोङ ५ ठिनी गाउँकी स्थानीय सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको सुनाइन् । मेसिनमा पिसेकोभन्दा पानी घट्टमा पिसेको पीठो स्वस्थ्यवर्धक र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने खालको हुने उनको दाबी छ ।


पानीको सहायताले घट्टको जातोलाई घुमाएर चल्ने परम्परागत प्रविधिका पानी घट्ट मुस्ताङका केही गाउँमा मात्रै बाँकी छन् । सदिंयौदेखि घरेलु प्रविधिका रुपमा चलेका परम्परागत पानी घट्ट संरक्षण, सम्वद्धन तथा प्रर्वद्धन गर्न सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया