भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने

पोखरा । पोखराको भैरवटोलमा भर्खरै निर्माण गरिएको भैरव मन्दिरमा कात्तिक २६ गते, भैरवाष्टमीको दिन दिउँसो २ बजेदेखि दर्शन र पुजन सुरु हुने भएको छ ।
यस मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिनेछ । सोही अवसरमा भैरवाष्टमीका दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शनसहितको पूजनमा सहभागी हुन श्री भैरव सांस्कृतिक संरक्षण समितिले आह्वान गरेको छ । दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुला रहनेछ ।
भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले दिएको जानकारीअनुसार, काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा संरक्षण गर्ने क्रममा समितिले मन्दिर निर्माणको पहल गरेको हो । समितिले पोखरामा नेवार समुदायको आगमनसँगै उपत्यकाको सांस्कृतिक परम्पराहरू जस्तै गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई निरन्तरता दिँदै आएको छ ।
समितिका सचिव तीर्थ श्रेष्ठले बताएअनुसार, समितिको २०७३ फागुन ७ गते सम्पन्न ४०औँ साधारण सभाले भैरव नृत्यका प्रमुख पात्र कालभैरवको पूजा–आराधनाका लागि मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७६ जेठ ३ गते पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले मन्दिरको शिलान्यास गरेका थिए ।
मन्दिर निर्माणको कुल अनुमानित लागत २ करोड ६ लाख ९१ हजार ८९५ रुपैयाँ रहेको छ । समितिले दिएको जानकारीअनुसार, अहिलेसम्म १ करोड ७० लाख ८८ हजार ६१५ रुपैयाँ खर्च भइसकेको छ । मन्दिर निर्माणका लागि विभिन्न दाताहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको पनि समितिले जनाएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया