बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब

समाधान संवाददाता २०८२ कार्तिक २२ गते ७:११

काठमाडौं। गत असोजमा गएको बाढीपहिरोका कारण भएको क्षतिबापत बिमा कम्पनीहरूमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको बिमा दावी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। बिमा प्राधिकरणका अनुसार कुल ४ सय ३४ वटा बिमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा ३ सय ८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ९२, कृषि तथा बाली बिमामा २ सय ९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिकतर्फ १०, अन्य बिमामा १ र सामुद्रिक बिमामा ३ वटा आवेदन परेको छ।

Advertisement

कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दावीको आवेदन परेको छ। सबैभन्दा बढी १ सय ९७ वटा बिमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौंमा ८०, मोरङमा ९०, झापामा २०, पर्सामा ७१, रौतहटमा २८ वटा बिमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँ बराबरको बिमा दावीको आवेदन परेको छ। यस्तै, गत असारको बाढीपहिरोका कारण भएको क्षतिको ९८ करोड ५९ लाख रुपैयाँ बराबरको बिमा दावीको आवेदन परेको थियो।

Advertisement

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बिमा कम्पनीमा बिमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दावीको आवेदन परेको हो।

तपाईको प्रतिक्रिया