फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएकी छन् । बालुवाटारमा बिहीबार आयोजित सर्वदलीय बैठकमा उनले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइन् ।
निर्वाचन आयोग र सुरक्षा निकायका अंगहरू पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले राज्यका सबै संयन्त्र चुनावका लागि परिचालित भइसकेको बताइन् । उनले अब चुनाव हुन्छ कि हुँदैन भनेर शंका गर्नुभन्दा कसरी सफल पार्ने भन्नेमा केन्द्रित हुन दलहरूलाई आग्रह गरिन् ।
‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ,’ प्रधानमन्त्रीले भनिन्, ‘सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन । १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।’ दलहरू एकमत भएमा खराब तत्वले आक्रमण गर्न नसक्ने र कसैले खलल पुर्याउन नसक्ने उनको भनाइ छ ।
सुरक्षाको पहिलो घेरा जनता नै भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसपछि मात्र प्रहरी, सशस्त्र र भूतपूर्व सुरक्षाकर्मीको भूमिका आउने बताइन् । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न चुनाव अपरिहार्य रहेको उनको जिकिर छ ।
आफूहरू जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको उनले स्पष्ट पारिन् । ‘अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन,’ उनले भनिन्, ‘राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो ।’ निर्वाचन आयोगले सक्रियतापूर्वक तयारी थालेको र सेना तथा प्रहरीले कानुनी राज स्थापनाका लागि काम गरिरहेको उनले जानकारी दिइन् ।
आन्दोलनका क्रममा भएका आगजनी र क्षतिको विषयमा पनि प्रधानमन्त्रीले गम्भीरता व्यक्त गरिन् । काठमाडौंको तुलनामा ललितपुरमा जनताले प्रतिकार गरेका कारण कम क्षति भएको उदाहरण दिँदै उनले समाजमा खराब तत्व रोक्ने सामर्थ्य हुनुपर्ने बताइन् । ‘हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो । यसमा हामीले क्षमायाचना पनि गरौँ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि मात्र बनेको र कुनै निजी स्वार्थ नरहेको प्रस्ट पारिन् । सरकारले कुनै अतिरिक्त प्राप्तिको आकांक्षा नराखेको बताउँदै उनले निहत्था युवा मारिएको र आगजनी भएको घटनाको अध्ययन भइरहेको जानकारी दिइन् । बैठकमा सहभागी दलहरूले पनि निर्वाचनको विकल्प नभएकोमा एकमत जाहेर गरेको प्रधानमन्त्रीले बताइन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया